पूर्व वडासदस्य अन्तराम जोशीको निधन : बागावगडमा अन्तिम दाहसंस्कार
दार्चुला । लेकम गाउँपालिका–५ मैखोली निवासी वि.सं. २०५४ का निर्वाचित वडा सदस्य ७४ वर्षीय अन्तराम जोशीको असोज २१ गते बिहान ५:३० बजे निधन भएको छ। लामो समयदेखि समाजमा सक्रिय एवम् घर निर्माणको कार्य गर्ने डकर्मी रहेका आफन्तको मन जितेका जोशीको निधनसँगै स्थानीयले एक इमानदार, मिलनसार र समाजप्रेमी व्यक्तित्व गुमाएको अनुभूति गरेका छन्।
नेकपा (एमाले) का संगठित सदस्य समेत रहेका स्व. जोशीको अन्तिम दाहसंस्कार लेकम–१ बागाबगडस्थित घाटमा गरियो। अन्तिम श्रद्धाञ्जलिका क्रममा नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीका उपाध्यक्ष एवम् लेकम गाउँकमिटी इन्चार्ज परमानन्द जोशीले पार्टीको झण्डा ओढाई अन्तिम बिदाई गरेका थिए।
उनको अन्त्येष्टिमा स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, शुभेच्छुक र नातागोता गरी १२८ जना व्यक्तिहरूको उपस्थिती रहेको थियो। उपस्थित सबैले स्व. जोशीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेका थिए।
जोशीले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन वडा सदस्यका रुपमा इमान्दारिता पूर्वक आफ्नो जिम्मेवारी निभाएका थिए। गाउँको विकास, एकता र सद्भावका लागि उनको अग्रसरता उल्लेखनीय मानिन्छ।










