Comments Add Comment

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता सहमति, साक्षी बालेन




काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच औपचारिक एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । मुलुकको परिवर्तित राजनीतिक परिस्थितिमा वैकल्पिक, सुशासित र जनउत्तरदायी राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै दुवै दलबीच एकतामा सहमति भएको हो ।

सहमति पत्रमा उल्लेख गरिएअनुसार, भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरू (Gen-Z) ले सञ्चालन गरेका आन्दोलन, विशेषतः २०८२ साल भदौ २३ र २४ गतेको आन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई प्रेरणाको रूपमा आत्मसात् गर्दै उनीहरूका परिवारका मागहरूलाई यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

एकतापछि गठन हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झन्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टीको आकृतिसहित रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् । उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको छ । उज्यालो नेपाल पार्टीको अभियानलाई रास्वपाका कार्यक्रमसँग जोड्दै संगठनात्मक संरचनालाई अझ सशक्त बनाइने उल्लेख गरिएको छ ।

सहमति पत्रमा उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy), भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल आधार बनाउँदै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यका साथ नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

एकतापछि पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने र लोकतान्त्रिक सुशासन, समुन्नति तथा सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि एकताका लागि आह्वान गरिएको छ ।

सहमति पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय ले हस्ताक्षर गरेका छन् भने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह साक्षीका रूपमा रहेका छन् ।

राजनीतिक विश्लेषकहरूले यस एकतालाई वैकल्पिक राजनीतिमा नयाँ तरंग ल्याउने सम्भावनाका रूपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment