काठमाडौँ । पत्रकार तथा सामाजिक अभियन्ता दिल निसानी मगरले सहिद दिवसको सन्दर्भमा राजनीतिक दलका नेतृत्वमाथि कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले वर्तमान राजनीतिक प्रणाली र यसका सञ्चालकहरूलाई ‘अघोषित हत्यारा’ को संज्ञा दिँदै ‘सहिद दिवसको नाटक नगर्न’ चेतावनी दिएका हुन्।
राणा शासन र वर्तमान लोकतान्त्रिक/गणतान्त्रिक व्यवस्थाको तुलना गर्दै मगरले अहिलेका शासकहरू राणाहरू भन्दा पनि क्रुर भएको आरोप लगाएका छन्।
‘राणाले ४ जना मारे, तिमीहरूले १७ हजार’
मगरले आफ्नो पोस्टमा ऐतिहासिक तथ्याङ्कलाई वर्तमानसँग जोड्दै लेखेका छन्, “प्रजातन्त्र माग्दा राणाहरूले जम्मा ४ जना मारेका थिए। तर सामाजिक सञ्जालको फुकुवा माग्दा तिमीहरूले ४५ जना भाइबहिनीहरू मार्यौ। अझ गणतन्त्र माग्दा १७ हजार गरिबका छोराछोरी मार्नेहरू पनि तिमीहरू नै हौ।”
उनले थप अगाडि लेखेका छन्— “तिमीहरू राणाको बाउको पनि बाउ हौ।”
‘खरानीको व्यापार गर्ने हत्यारा’
देशमा द्वन्द्व निम्त्याएको र त्यसबाट आफ्नो स्वार्थ सिद्ध गरेको भन्दै उनले नेतृत्वको नैतिकतामाथि प्रश्न उठाएका छन्। उनले नेताहरूलाई लक्षित गर्दै भनेका छन्, “देशमा आगो सल्काएर खरानीको व्यापार गर्ने अघोषित हत्याराहरूले शहीद दिवसको नाटक गर्नु पर्दैन।”
सामाजिक सञ्जालमा बहस
माघ १६ गते सहिद दिवस मनाइरहँदा मगरको यो पोस्टले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। धेरैले यसलाई वर्तमान व्यवस्थाप्रतिको तीव्र असन्तुष्टिका रूपमा बुझेका छन्। विशेषगरी द्वन्द्वकालीन न्याय र नागरिक अधिकारका विषयमा सरकारको कार्यशैलीप्रति उनले कडा व्यङ्ग्य गरेका हुन्।
यो पनि पढ्नुहोस्: देशका विभिन्न स्थानमा सहिदको सम्झनामा कार्यक्रमहरू भइरहँदा सामाजिक सञ्जालमा भने व्यवस्था र पात्र परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको भन्दै आलोचना भइरहेको छ।






