बुटवलमा महिला र दुई बालबालिकाको हत्या, एक जना पक्राउ
दार्चुला,१४ जेठ २०८२।
बुटवल उपमहानगरपालिका–११ स्थित होराइजनचोक नजिकै मिलीजुली पथमा एक महिला र उनका दुई सन्तानको विभत्स हत्या भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र रानाका अनुसार अन्दाजी २७ वर्षीया महिला, उनका ७ वर्षीय छोरा र ४ वर्षीया छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना सार्वजनिक भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएको जनाएको छ।
“हाल घटनास्थलमा हाम्रो टोली पुगेको छ र विस्तृत अनुसन्धान जारी छ,” डिएसपी रानाले जानकारी दिए। हत्या किन र कसरी भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरू घटनाबाट स्तब्ध छन् भने घटनास्थलमा सर्वसाधारणको भीड लागेको छ। प्रहरीले घटनास्थललाई घेराबन्दी गर्दै आवश्यक प्रमाण संकलनको काम गरिरहेको छ।
यस बर्बर घटनाले समाजमा पुनः महिला र बालबालिकामाथि बढ्दो हिंसाबारे गम्भीर प्रश्न उठाएको छ।






