आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा गरी मनाइँदै
२०८१ को बडा दशैँ असोज १७ देखि सुरु भएको छ, घरघरमा जमरा राख्दै कसरी मनाउँछन् नेपालीहरु ?
काठमाडौ। हिन्दुहरुको महान् पर्व मात्रै नभई नेपालीहरुको बडा पर्वको रुपमा परिचित बडा दशैँको छुट्टै संस्कृति रहेको छ। पूर्वी एवम् मध्यपूर्वी नेपालमा हिजो घटस्थापनाका दिन घरघरमा जमरा राखेर शुरु गरियो भने सुदूरपश्चिम तिर मन्दिरहरुमा दिनभर उपासक रहेर बेलुकी तिर जमरा राखि बडा दशैं शुरु भएको छ।
हरेकवर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।
बडादशैंको पहिलो दिन घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएपनि पश्चिम नेपालतिर बेलुकीतिर मात्रै मन्दिर पस्ने गरिन्छ यद्यपि शुभसाइत मै कहिकतै जमरा राखिने पनि गरिएको छ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आज बडा दशैंको दोस्रो दिन यानकी नव दुर्गाका नौरुपको आराधना गरिने भएकाले यो अवधिलाई नवरात्रा अवधि पनि भनिन्छ, दोस्रो दिन ब्रह्मचारिणी को पूजाआजा गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।


