Comments Add Comment

नेकपाकाे समानुपातिक सुचीमा उत्पिडित वर्ग, मुस्लिमकाे पहिलो नम्बरकी सकिना काे हुन् ?




दार्चुला।
समानुपातिक निर्वाचन प्रणालीमा पुराना र नयाँ दलहरूले समावेश गरेका व्यक्तिहरूकाे नाममा विभिन्न प्रतिक्रियाहरू आइरहेकाे छ । विशेषगरी नयाँ दलकाे रूपमा स्थापित भएको रास्वपाले पेश गरेको बन्दसूचीमा धनाढ्य र नेताका आफन्तकाे नाम हालेकाे भनेर चाैतर्फी आलोचना भइरहँदा पुर्व माओवादी र हाल नेपाली कम्युनिस्ट पार्टीकाे सूचीमा भने अत्यन्तै निम्न र पिछडिएका तथा याेगदान र त्याग गरेका व्यक्तिहरू समेटिएको भनेर प्रशंसा आइरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बन्दसूचीमा राखेका उमेदवारमध्ये मुस्लिम, अल्पसंख्यक, महिला, मधेसी, दलित र आदिवासी जनजाति क्लष्टरमा राखिएका नामहरू उपयुुक्त र संविधानले व्यवस्था गरेबमोजिमकाे समावेशी र समानुपातिक मापदण्डअनुसार नै भएको भनेर टिप्पणी भइरहेको छ ।


मुस्लिम तर्फकाे पहिलाे नम्बरमा राखिएकी सकिना खातुन जनयुद्धमै हुर्किएर जनमुक्ति सेनामा समेत सहभागी भई दर्जन बढि युद्व र भिडन्तमा प्रत्यक्ष सहभागी युवा महिला हुन् भने महिलातर्फकी सपना नहर्की बहुचर्चीत गाेर्खा जेल ब्रेकर सशक्त महिला नेतृ हुन् । त्यसैगरी पुर्व विद्यार्थी नेतृ पञ्चा सिंह, निरन्तर माओवादी र परिवर्तनको पक्षमा बाेल्ने मंगलसिंह प्रजा, जनयुद्धका घाइते प्रेम वयक, बाजुराकी जनयाेद्वा विनिता विक पनि समानुपातिकका क्लष्टरअनुसारका अग्र सुचीमा पारिएका छन् ।

त्यसमध्ये रविना खानकाे नामले चिनिने सकिना खातुन मुस्लिम समुदायबाट जनयुद्धमा सहभागी हुने दाेस्राे महिलाकाे रूपमा रहेकी युवा हुन् ।  २०४९ साल बैसाखमा हालकाे मायादेवी ३ कपिलवस्तुमा जन्मिएकी उनी २०५८ साल मंसिरदेखि २०६३ सम्म नै जनयुद्धमा सहभागी भइन् भने शान्ति प्रक्रिया शुरू भएपछि चाैथाे डिभिजन र त्यसपछि काठमाडौं तथा देशका विभिन्न ठाउँमा पार्टी र साँस्कृतिक क्षेत्रको काममा सक्रिय भएकी थिइन्  ।  हालसम्म कुनै लाभकाे अवसर नपाएकी खानलाई यसपटक पार्टीले प्रतिनिधिसभाकाे सांसदकाे रूपमा पहिलो नम्बरमा सिफारिस गर्दा आफुलाई मात्रै नभई मुस्लिम समुदाय र समस्त जनयाेद्वाकाे मुहारमा खुसि छाएकाे उनलेे बताइन् ।

जनयुद्धका कष्टसाध्य दिनमा मुस्लिम जस्ताे धार्मिक रूपमा कट्टर समुदायबाट विद्राेह गरेर जनयुद्धमा हाेमिनु धेरै नै असम्भव कुरा थियाे तर उनलाई तत्कालीन माओवादीले गरेकाे न्याय र समानताकाे अभियान र कामबाट प्रभावित भई जनयुद्धमा लाग्ने प्रेरणा पैदा भएको र त्यसकाे लागि तत्कालीन स्थानिय नेता किरणकाे भुमिका रहेकाे भन्दै माओवादी हुन पाएकामा गर्व गर्छिन् रविना खातुन् ।

जनयुद्धकालमा रविना नामबाट चिनिने उनी कपिलवस्तुमा जन्मिएर मदरसा पढ्दापढ्दै जनयुद्धमा सहभागी भएकी थिइन् । राम्रो नेपाली बाेल्न समेत माओवादी साथिहरूसँग हिँडेपछि सिकेकाे बताउने उनलेे म्याग्दीको बेनीदेखि सुनवल, स्याङ्जा, पाेखरा, गण्डक क्षेत्रका गाेर्खा, कास्की, तनहुँ, लमजुङ, धादिङ हुँदै काठमाडौं सम्मका युद्व, आन्दोलन र कार्यक्रममा अनवरत सहभागी र नेतृत्व गरेकी छिन् ।

समानुपातिक लिष्टमा नाम भएको समाचार मिडियाहरूमा आउन थालेपछि उनलाई कपिलवस्तुका मुस्लिम, थारू, दलित बस्ती र देशैभरबाट पुर्व पिएलएका सहयाेद्वाहरूले फाेन गरेर बधाई दिँदै खुसि साँटिरहेका छन् । उनी भन्छिन्- अहिले त यस्तो छ, पछि म सांसद भएको देख्न पाए भने ती समुदाय र साथिहरू कति खुसि हाेलान् ।

पहिले माओवादी र अहिले नेकपा नै आफ्नो घर भएको बताउने रविना खानकाे वास्तविक नाम अर्थात नागरिकताकाे नाम कैसर जहाँ भन्ने सकिना खातुन हाे । प्रचण्डलाई आदर्श नेता र आफ्नो बुबा समान सम्मान गर्ने रविना सांसद बनेपछि पार्टी र नेतृत्वले दिएकाे जिम्मेवारी दृढतासाथ पुरा गर्ने बताउँछिन् । उनी भन्छिन्- म त पार्टीको सिपाही हाे, आफ्नो वर्ग, समुदाय र सबै उत्पीडितहरूकाे पक्षमा पार्टीको नीति र नेतृत्वको निर्देशन अनुसार काम गर्छु ।
पछिल्लो जनगणना अनुसार अहिले नेपालमा १४ लाख असी हजार मुस्लिमकाे जनसंख्या छ । त्यसको आधारमा ११० मध्ये ५ जना मुस्लिम समुदायबाट प्रतिनिधिसभामा सांसद हुने व्यवस्था भएअनुसार नेपाली कम्युनिस्ट पार्टीले खातुनलाई पहिलाे नम्बरमा राख्दै ५ जना मुस्लिम समुदायको नाम सिफारिस गरेको छ ।

उनी वर्गकाे हिसाबले, समुदायको हिसावले जनयुद्धमा सहभागी जनयाेद्वा भएको हिसाबले, लिंगकाे हिसावले, अवसर नपाएको हिसावले र त्याग र समर्पणकाे हिसाबले याेग्य पात्र भएकाले उनलाई सिफारिस गर्नु र सूचिमा राख्नु उपयुक्त भएको धारणा तत्कालीन माओवादी निकट नेताहरूले राखेका छन् । उनीहरूले यस कार्यले नेपाली कम्युनिस्ट पार्टी र संयाेजक प्रचण्डप्रति आम जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् । उनीहरूकाे एउटै धारणा छ- `पार्टीले उनीजस्ता युवालाई न्याय गराेस् ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment