दार्चुला ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक गतिविधि तीव्र बनाएको छ। माघ १५ गतेदेखि नेकपा दार्चुलाले राष्ट्रवादी नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण गर्दै जनयुद्धका ७२ जना सहिदहरूको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरी सहिद परिवारबाट प्राप्त आशिर्वाद र सात्तोलाई प्रसादका रूपमा ग्रहण गर्दै चुनावी रणनीति तय गर्ने प्रक्रिया अघि बढाएको छ।
नेकपा दार्चुलाले आफूलाई जनभावनाअनुरूप काम गर्ने पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। एमाले र कांग्रेसका नेताहरूको तुलनामा जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने क्षमता आफ्ना नेताहरूमा रहेको दाबी पार्टीको छ। यद्यपि संगठनात्मक रूपमा कमजोरी स्वीकार गर्दै पार्टी नेतृत्व एकता र स्पष्ट लक्ष्यका आधारमा अघि बढ्न प्रतिबद्ध देखिन्छ।
अघिल्ला निर्वाचनहरूमा नेकपा दार्चुलाका नेताहरूले देखाएको इमान्दारिता, राजनीतिक प्रभाव र कार्यकौशलकै कारण आज पनि पार्टी जिल्लाका ९ वटै स्थानीय तहका ६१ वटै वडामा स्थापित रहेको बताइन्छ। हाल नेकपाबाट दार्चुलामा ४ जना पालिका प्रमुख र २ जना उपप्रमुख जनप्रतिनिधिका रूपमा कार्यरत छन्। विशेष कुरा के छ भने सत्तामा रहे पनि ती जनप्रतिनिधिहरू प्रतिपक्षीझैँ जनताको काममा सक्रिय देखिँदै आएका छन्।
आगामी निर्वाचनका लागि नेकपा दार्चुलाले औपचारिक रूपमा चुनावी रणनीति सार्वजनिक नगरे पनि उम्मेदवार लक्ष्मण दत्त जोशी भने आफू विजयी हुनेमा विश्वस्त देखिएका छन्। उनले २०६४ देखि २०७० सम्म आफूले देखाएको कार्यकौशलता र हाल नेकपाका जनप्रतिनिधिहरूले जनभावनाअनुसार गरेका काम नै आफ्नो जितको आधार बन्ने बताएका छन्।
नेकपा ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै जोशीले गल्ती कमजोरी स्वीकार गरेर सुधार गर्दै अघि बढ्ने संस्कार पार्टीमा रहेको बताए। “दार्चुलाका जनताहरू अहिले सबै कुरा बुझ्ने भइसकेका छन्, त्यसैले भोट तारामै दिनुहुन्छ,” उनले विश्वास व्यक्त गरे।
यता अन्य दलहरूको अवस्था पनि चासोको विषय बनेको छ। कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले चुनाव नलड्ने घोषणा गरेसँगै एमाले नेताहरू उत्साहित देखिएका छन् र चुनाव सहजै जित्ने दाबी गरिरहेका छन्। कांग्रेसले भने उम्मेदवार परिवर्तन गरेर मैदानमा उत्रिएको र आफूले जित्ने दाबी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि देश, काल र परिस्थितिअनुसार आफू चुनाव जित्ने विश्वास व्यक्त गरेको छ।
अब प्रश्न उभिएको छ—दार्चुलामा नेकपा यसपटक रास्वपाभन्दा कम भोटमा सीमित हुन्छ कि २०६४ र २०७९ को निर्वाचनजस्तै परिणाम दोहोर्याउँदै पुनः जित निकाल्न सफल हुन्छ ? यसको उत्तर भने फागुन २१ पछि मतपेटिकाले दिनेछ।






