दार्चुला । कोशी प्रदेश सभाको बैठक बुधबार तनावग्रस्त बनेको छ। नीति तथा कार्यक्रममाथि संशोधनका लागि पर्याप्त समय नदिई प्रक्रिया अघि बढाइएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा नाराबाजी र विरोध जनाएका हुन्। यही क्रममा पूर्व मुख्यमन्त्री तथा राजेन्द्र कुमार राई ले रोष्ट्रमको माइक तोडफोड गरेको घटना सार्वजनिक भएपछि यतिबेला उक्त विषयले व्यापक चर्चा पाएको छ।
प्रदेश सभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख अम्बरबहादुर विष्ट ले प्रतिपक्षीको विरोधकाबीच कार्यसूची अघि बढाउन खोजेपछि स्थिति थप तनावपूर्ण बनेको बताइएको छ। प्रतिपक्षी सांसदहरूले रोष्ट्रम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए।यसैबीच, आक्रोशित बनेका पूर्व मुख्यमन्त्री राईले रोष्ट्रममा रहेको माइक तानेर तोडफोड गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।
भिडियोमा उनी आक्रोशित अवस्थामा देखिन्छन् भने त्यसपछि सभा कक्षको वातावरण थप असहज बनेको थियो।प्रतिपक्षी दलका सांसदहरूले सरकार र सभामुखले संसदीय प्रक्रियालाई बेवास्ता गर्दै “पेलेर” नीति तथा कार्यक्रम पारित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा संशोधन दर्ता र छलफलका लागि आवश्यक समय नदिई प्रक्रिया अघि बढाइएको थियो।घटनापछि पूर्व मुख्यमन्त्री राईको व्यवहारप्रति विभिन्न राजनीतिक वृत्त, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणले आलोचना गरिरहेका छन्।
जनप्रतिनिधिबाट अपेक्षा गरिने संयम र संसदीय मर्यादाविपरीत आक्रामक शैली प्रदर्शन गरिएको भन्दै धेरैले आपत्ति जनाएका छन्।यद्यपि, केही नेताहरूले भने प्रतिपक्षको आवाज सुनुवाइ नभएपछि परिस्थिति तनावपूर्ण बनेको टिप्पणी गरेका छन्। उनीहरूले संसदीय प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।घटनाबारे कोशी प्रदेश सभाले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। तर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा भने यस घटनाले तीव्र बहस सिर्जना गरेको छ।



