का कव्वा का का मेरो रोटि खा : प्रेम जोशी
०१ माघ २०८१, दार्चुला।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
जातजाति विशेषमा फरक-फरक ढंगले मनाइने यस दिनलाई सुदुरपश्चिमको पहाडी भेगतिर नरहरी भनेर मनाइन्छ भने तराईमा वसोवास गर्ने थारुहरुको ठूलो पर्वका रुपमा माघि पर्वलाई लिईन्छ।
माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ। यस पर्वमा पवित्र नदि, तलाउ, भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटहरूमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।
‘नर’ भनेको मानिस र ‘हरि’भनेको भगवान अर्थात भगवानमा लिन हुनु भन्ने शाब्दिक अर्थ आउँछ।वास्तवमा भन्ने हो भने नरहरी पुस मसान्तबाट नै सुरु हुन्छ।
पुस मसान्तको दिन बन तरुल ल्याइन्छ र असिनेर खाइन्छ साथै त्यही साँझ चामल गहु र मासको पिठोबाट बनेका मिठा मिठा परिकार बनाएर खाने चलन छ। पाकेका मध्ये पहिलो परिकारलाई कागको लागि भनेर छुट्याइन्छ र परिवारका सदस्य,आफन्तजन,मित्रगणहरु सामुहिक रुपमा बसेर भोजन गर्छ्न। खाइसकेपछि इतिहासका ती काल खण्डका बारेमा चर्चा हुन्छ,जहाँबाट आज हामी यहाँसम्म आइपुगेका छौँ।
त्यसको दोस्रो दिन अर्थात माघ १ गते नजिकका तीर्थस्थलहरुमा गएर स्नान गर्छन र नजिकै बलिरहेको धुनी ताप्न अग्रसर हुन्छन। त्यहाँबाट आइसकेपछि अघिल्लो दिन बेलुका पकाएको ‘माणो’‘झुनमुने’ वावर, सेलरोटी लिएर आँगनमा आउछन् र “का कौवा का मेरो रोटी खा”भनी कागलाई बोलाउँदै परिकार खान दिन्छन् ।
काग तिहारका अतिरिक्त नरहरिका दिन पनि कागलाई पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देश वाहकका रुपमा लिइन्छ।कागले नै जन्म-मृत्युको विवरण लैजाने र ल्याउने काम गर्छ भन्ने जनविश्वास रहेको पाइन्छ।
यस दिनमा काग पनि विभिन्न तीर्थाटन गरि फर्केको हुन्छ भन्ने विश्वास गरिन्छ। काग सबैलाई समान दृष्टिले हेर्ने तथा अत्यन्तै चलाख सर्वभक्षी प्राणीका रुपमा रहेको धार्मिक मान्यता छ। यसले सबै किसिमका फोहर र अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिने हुनाले सर्वगुणी पन्छिका रुपमा पनि लिइन्छ।
नरहरिका दिन कागले लगेर लुकाएको रोटी ब्याउने गाईलाई खुवाए बाच्छा बाच्छी सप्रीने तथा कागलाई मिठा मिठा परिकार खुवाए पाप नष्ट हुने धार्मिक मान्यता रहेको छ।
प्राचीन कालदेखी नै चल्दै आएका घटना परिघटनाहरुलाई पनि यस पर्वसँग जोड्ने गरिन्छ।महाभारतमा वर्णन भए अनुसार इच्छामृत्यु पाएका देवव्रत अर्थात् भीष्मले यश दिनमा देह त्याग गरेको कुरा तथा चन्द्रगुप्तको चाणक्य नीतिमा उल्लेख गरिएको काग सम्बन्धी भनाइप्रती पनि विश्वास रहेको पाइन्छ।
अनिवार्य रुपमा सबैले स्नान गर्नुपर्ने चलन रहेको यस दिनमा पशुपन्छीलाई मिठा मिठा परिकार खुवाउने तथा गरिब, दु:खी ब्राह्मणहरुलाई दान दक्षिणा गरे परिवारमा सुख शान्ती एवम् वैभव प्राप्त हुने जन विश्वास रहेको छ। मिठा-मिठा परिकार खाने तथा सद्भाव बाड्ने ‘नरहरी’लाई छोरी , बहिनी तथा इष्टमित्र आफन्तजन भेटघाटको रुपमा पनि मनाइने गरिन्छ।
✍🏿प्रेम जोशी “सागर” शैल्यशिखर न.पा.८ झरकडा दार्चुला , हाल धनगढी कैलाली।






