गणतन्त्र दिवस २०८२: पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना, गणतान्त्रिक एकताको आह्वान
दार्चुला, १५ जेठ २०८२ –शारदा पन्त।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७औं वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ। स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र विभिन्न जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली र बेपत्ता तथा घाइते योद्धाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ।
अध्यक्ष प्रचण्डले गणतन्त्रले पितृसत्तात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी उत्पीडित समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्नुभयो। “गणतन्त्रले सयौं वर्षदेखि उत्पीडनमा परेका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायलाई नागरिकको हैसियत प्रदान गरेको छ,” उहाँले भन्नुभयो। यद्यपि, गणतान्त्रिक संविधानले प्रदान गरेका मौलिक हकको पूर्ण कार्यान्वयन र जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा रुपान्तरण गर्ने कार्यभार बाँकी रहेको उहाँको भनाइ छ।
महान् जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको स्मरण गर्दै प्रचण्डले गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। “अहिले सरकार सञ्चालनमा देखिएका बेथितिले जनतामा निराशा बढाइरहेको छ भने प्रतिगामी तत्वहरू गणतन्त्रविरुद्ध सल्बलाउने प्रयास गरिरहेका छन्,” उहाँले भन्नुभयो। यस्तो अवस्थामा यथास्थितिवाद र प्रतिगामी हर्कतविरुद्ध संघर्ष गर्दै गणतान्त्रिक व्यवस्थाको रक्षा र अग्रगामी परिवर्तनका लागि दृढतापूर्वक अघि बढ्नुपर्ने उहाँको आह्वान छ।
गणतन्त्र दिवसले गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै जनताको जीवनस्तर बदल्ने अभियानमा प्रेरित गर्नुपर्ने भन्दै प्रचण्डले पुनः शुभकामना व्यक्त गर्नुभएको छ। “गणतान्त्रिक शक्तिहरूबीचको बलियो एकता र सहकार्यका साथ फेरिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न केन्द्रित होऔं,” उहाँले जोड दिनुभयो।
नेपाल संवत् ११४५ तछलाथ्वः ३.९ को अवसरमा आयोजित विभिन्न कार्यक्रममा पनि गणतन्त्रको महत्व र उपलब्धिहरूबारे चर्चा गरिएको छ। गणतन्त्र स्थापनाको १७ वर्षमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी कार्यभार पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको विज्ञहरूले बताएका छन्।







