Comments Add Comment

दार्चुलाको विकासको सवालमा एमाले बाहेक अरू कसैबाट आशा गर्न सकिन्न : युवा नेता उमेश खत्री

दार्चुलाको विकासको सवालमा एमाले बाहेक अरू कसैबाट आशा गर्न सकिन्न : युवा नेता उमेश खत्री

दार्चुला – “दार्चुलाको समग्र विकासको जिम्मेवारी लिन सक्ने शक्ति नेकपा एमाले मात्र हो,” एमालेका युवा नेता उमेश खत्रीले बताएका छन्। उनका अनुसार २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका कारण एमाले पराजित भए पनि, त्यसपछि जिल्लाले विकासमा पाएको बेवास्ता र सुस्तता दुःखद तथा लाजमर्दो भएको छ।

२०७९ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनले “जैलाल” नाराको प्रयोग गर्दै सिङ्गो राज्य संयन्त्र प्रयोग गरी एमाले विरुद्ध साम-दाम-दण्ड-भेदको नीति अपनाएर चुनाव जितेको खत्रीको आरोप छ। तर चुनाव जितेको झण्डै तीन वर्ष पुग्न लाग्दा पनि स्थानीयदेखि संघीय तहसम्म जनप्रतिनिधिहरूको उपस्थिति नै अनुभूति हुन नसकेको उनको भनाइ छ।

“दार्चुला अहिले जनप्रतिनिधिविहीन जिल्लाजस्तो देखिन्छ,” खत्री भन्छन्, “न संसदमा उपस्थिति छ, न सडकमा आवाज छ, न गाउँमा काम छ। त्यसमाथि उल्टै एमालेले विकास गरेन भन्ने भ्रामक प्रचार भइरहेको छ।”

उनी भन्छन्, “२०७० सालदेखि २०७९ सालसम्म एमालेबाट निर्वाचित गणेश सिंह ठगुन्ना ज्यूको नेतृत्वमा दार्चुला विकासको स्वर्णिम कालतिर अघि बढेको थियो।”

उनका अनुसार एमालेको सरकार हुँदा तीङ्कर सडक नेपाली सेनालाई हस्तान्तरण, महाकाली करिडोरमा एकै आर्थिक वर्षमा १ अर्ब ३ करोड बजेट विनियोजन, र २२ करोड विनियोजित बजेटबाट तीङ्कर सडकको निर्माण जस्ता योजनाहरू अघि बढाइएका थिए। तर सोही बजेटमा तत्कालीन उद्योग मन्त्री दिलेन्द्र बडुले ५०% कटौती गरी १० करोडमा झारेको कुरा खत्रीले स्मरण गराएका छन्।

खत्रीको आरोप छ—जिल्लामा हालका सांसदहरू विकासबारे मौन छन्, बजेट ल्याउन असफल छन्, र जनउत्तरदायित्वबाट भागिरहेका छन्। “अब त तिङ्कर सडकजस्तो महत्वपूर्ण योजनामा जम्मा ६ करोड बजेट विनियोजन गरिएको छ, जुन दार्चुलालीका लागि अपमानजनक अवस्था हो,” उनी भन्छन्।

उनले थपे, “निर्वाचनमा एमालेलाई हराउन स्वतन्त्र उम्मेदवारका नाममा कांग्रेस–माओवादी समर्थक पत्रकारहरूको भूमिका समेत रह्यो, तर अब तिनै व्यक्तिहरू किन मौन छन्?”

युवा नेता खत्रीले तथ्य र तथ्याङ्कका आधारमा छलफल गर्न सबैलाई खुला चुनौती दिएका छन्। उनले एमालेमाथि दोष थोपर्नेहरूको मानसिकता परिवर्तन गर्न आग्रह गर्दै भने, “जो हराएर पनि जिल्लाको हितमा सिंहदरबारमा हिँड्न सक्छ, त्यो एमाले हो। तर जो जितेर पनि हराएकोजस्तो छन्, ती अहिलेका प्रतिनिधिहरू हुन्।”

दार्चुलामा विकास विरोधी सोच र निष्क्रिय जनप्रतिनिधिहरूको बहिष्कार गरौं — खत्री

लेखको अन्त्यमा उनले भनेका छन्, “अब जिल्लाको भविष्यबारे गम्भीर सोच आवश्यक छ। विकास गर्न असक्षम जनप्रतिनिधिहरूको बहिष्कार गरेर जनताको पक्षमा खटिने शक्तिको साथ दिनु समयको माग हो।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment