लेकममा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै नमकिन बनाउने ५ दिने तालिम शुरु
लेकम, दार्चुला — अपाङ्ग क्षमता अभिवृद्धि तालिम अन्तर्गत लेकम गाउँपालिकामा नमकिन बनाउने ५ दिने तालिम सुरु गरिएको छ। तालिमले अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्य राखेको छ।
तालिमको उद्घाटन कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शेखर ओझाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम प्रदान गर्नु सामाजिक समावेशिता र न्यायको दिशामा एक महत्वपूर्ण कदम भएको बताए। अध्यक्ष शेखर ओझाले पनि तालिममार्फत सहभागीहरूमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।
तालिममा नमकिन बनाउने सीप प्रदान गर्ने प्रशिक्षक जानकी विष्टले सहभागीहरूलाई विभिन्न किसिमका नमकिन परिकारहरू तयार गर्ने तरिका, बजार व्यवस्थापन तथा गुणस्तर सुधारका विषयमा प्रशिक्षण दिइरहेका छन्।
५ दिनसम्म चल्ने तालिममा स्थानीय तहका अपाङ्गता भएका २४ जना सहभागी छन्। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई आवश्यक सामग्री सहयोग र बजार जडानको पहल समेत गरिने आयोजकले जानकारी दिएको छ।






