दार्चुलाको लेकम गाउँपालिकामा भिषण हावाहुरी: रुख भाँचिए, छाना उडे, पोल ढल्यो
दार्चुला, जेठ ५ — नरेश जोशी।
दार्चुला जिल्लाको लेकम गाउँपालिकामा आज दिउँसो आएको भिषण हावाहुरीले ठूलो क्षति बेहोर्नुपरेको छ। एक्कासि आएको शक्तिशाली हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ भने स्थानीयहरुमा त्रास फैलिएको छ।
गाउँपालिकाका विभिन्न स्थानहरूमा रुखहरू भाँचिएर सडक अवरुद्ध भएको छ भने केही घरहरूको छाना समेत उडाएको स्थानीयले जानकारी दिएका छन्। हावाहुरीले विशेष गरी वडा नम्बर ५ को रातामाटा क्षेत्रमा ठुलो असर पुर्याएको छ । जहाँ विद्युत् आपूर्तिका लागि प्रयोग हुँदै आएको मुख्य प्रशारण लाइनको पोल ढलेको छ।
स्थानीयवासीका अनुसार यसअघि यति तीव्र र शक्तिशाली हावाहुरी आएको स्मरण छैन। विद्युत् सेवा अवरुद्ध भएपछि संचार र दैनिकीमा समस्या पर्ने भएको छ। यस्तै लेकम -४ को बुढाकोटमा हावाहुरीले पनि घरका छानाहरु उडाएका छन्।
लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी ले आकस्मिक आउने हावाहुरी, वर्षाबाट जोगिन नागरिकहरुलाई सचेत गराएका छन् भने हावाहुरी बाट भएको क्षतिबारे चिन्ता व्यक्त गरेका छन्।








