दक्षिण एशियाली शान्तिका लागि नेपालको पहलकारी भूमिका
३० वैशाख २०८२, दार्चुला।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय रहेको देश नेपाल अहिले संगठनको अध्यक्ष राष्ट्रको हैसियतमा रहेको छ। यस्तो अवस्थामा क्षेत्रीय अस्थिरता र द्वन्द्वको सन्दर्भमा नेपालले वार्ता र संवादमार्फत शान्तिको कामनासहित सक्रिय भूमिका निर्वाह गर्नु स्वाभाविक मात्र होइन, आवश्यक पनि हो।
नेपालले विगतमा पनि भारत–पाकिस्तानबीच वार्ताका पहलहरू गर्दै आएको छ। उदाहरणका लागि, सन् २०१४ मा काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफबीच औपचारिक वार्ता तय नभए पनि दुबै नेताबीच भएको संक्षिप्त संवादलाई ‘आइस-ब्रेकिङ’का रूपमा लिइएको थियो। यो संवाद नेपालकै पहलमा सम्भव भएको थियो।
त्यसपछि सन् २०१८ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खाकान अब्बासीले भारत–पाकिस्तान संवाद पुनः सुरु गर्न नेपालले मध्यस्थ भूमिका खेल्न प्रस्ताव गरेका थिए, जुन भारतले अस्विकार गर्यो। त्यसै वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै देशका नेताहरूसँग छुट्टाछुट्टै संवाद गर्दै सार्कलाई पुनः सक्रिय तुल्याउने प्रयत्न समेत गरेका थिए।
नेपालको कूटनीतिक हैसियत, भौगोलिक स्थिति र तटस्थता उसको ठूलो पूँजी हो। यही विशिष्टताका कारण नेपालले भारत–पाकिस्तानबीचको तनाव न्यूनीकरणका लागि वार्ता सहजीकरणमा भूमिका खेल्न सक्छ।
यद्यपि, दुर्भाग्यवश नेपाली राजनीतिक बहसमा यस्ता पहलहरूको मूल्याङ्कनभन्दा दलगत सोच हावी हुने प्रवृत्ति देखिन्छ। कतिपयले प्रधानमन्त्री ओलीको व्यक्तित्व र शैलीलाई लिएर आलोचना गर्नुलाई प्राथमिकता दिँदा, राष्ट्रिय कूटनीतिक प्रयासहरूको प्रभाव घटिरहेको छ।
नेपाल सानो देश भए पनि दक्षिण एशियाको शान्ति, स्थिरता र समृद्धिका लागि उसको भूमिका सान्दर्भिक र अर्थपूर्ण छ। त्यसैले अब समय आएको छ—जहाँ हामी आफ्नो आकार होइन, प्रभावको गहिराइलाई बुझौं र हरेक ठूला कुरालाई व्यंग्यको रूपमा होइन, गम्भीर दृष्टिकोणबाट हेरौं।






