नेपाली जनता – तपाईँहरू यसको साक्षी हुनुहुन्छ, अर्को चुनावमा सम्झनुहोला – सुमना श्रेष्ठ
रास्वपा सांसद एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्ना सभापति पक्राउ परेपछि वर्तमानको भण्डाफोर गरेकी छन्। सांसद श्रेष्ठले नेपाली जनतालाई सम्झिँदै अर्को चुनावमा सम्झिन आग्रह गरेकी छन्।
सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो बुँदागत धारणा यसरी राखेकी हुन् , “देश भर्खरै भएको मानविय विपत्तिबाट उठ्न खोजिरहेको बेला एमाले र नेपाली कांग्रेसले चलाएको “राज्य” को प्राथमिकता भने प्रतिशोध साध्ने रहेछ भन्ने प्रष्ट भयो । *यही* समयमा प्रतिपक्षी दलका प्रभावशाली नेतामाथि राजनैतिक प्रतिशोध किन साधिदैछ हामी आफै विचार गरौँ –
१) विपद् बेलाको आफ्नो अकर्मण्यताबाट जनताको ध्यान कसरी अर्को विषयमा लाने?
२) ललिता निवास जग्गा आफ्नो पार्टी भवनसँग सट्टापट्टा/ blackmail गर्ने प्रधानमन्त्री ज्यूको दुस्साहसलाई कसरी बिर्साउने?
३) सहकारीमा फसेको जनताको रकम फिर्ता कसरी गर्ने भनेर सरकारले पटकपटक आयोग बनायो तर कार्यान्वयन गर्ने आँट गरेन, यो तथ्य जनताबाट कसरी लुकाउने?
अब के हुन्छ त – अहिले सुनियोजित कार्यक्रमहरूमा भाषण गर्दै साना दलहरूले अस्थिरता ल्याए, दुई दल मात्र हुन पर्छ भनेर वकालत गर्ने लहड चलेको छ। त्यही अनुरुप साना पार्टी फुटाएर आफूमा गाभ्न मिल्ने गरी अध्यादेश ल्याउने प्रयास हुनेछ । अहिले जस्तै शक्ति दुई दलमा सिमित राखी पालै पालो राज्यको दोहन गरी रहने । अध्यादेशको लागि कुनै ज्योतिषले जुराइदिएका साइत कुरिरहेका होलान् ।”






