Comments Add Comment

‘एक तिर, दुई सिकार’: बजेट अभावले तिङ्कर सडक अन्योलमा


‘एक तिर, दुई सिकार’: बजेट अभावले तिङ्कर सडक अन्योलमा

दार्चुला – राष्ट्रिय गौरवको योजना महाकाली कोरिडोर अन्तर्गतको तिङ्कर सडक निर्माण कार्य बजेट अभावका कारण प्रभावित बनेको छ। सामरिक, आर्थिक र सामाजिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको यो सडक नेपाली सेनाको जिम्मामा भए पनि चाहिएको मात्रामा बजेट नआउँदा काम रोकिएको छ।

तीन देशसँग सिमाना जोड्ने, नेपाली नक्सामा समावेश अतिक्रमित भूमिलाई जोड्ने र आफ्नै बस्तीबाट बाहिर निस्कन विदेशी भूमि प्रयोग गर्न बाध्य दार्चुलाका दर्जनौं भेगलाई नेपालको सडक सञ्जालसँग जोड्ने यो तिङ्कर सडक अहिले अन्योलको अवस्थाबाट गुज्रिरहेको छ।

सत्तारूढ दुई ठूला दलको महागठबन्धन सरकार रहेको र त्यसै सरकारका प्रभावशाली पूर्व तथा वर्तमान सांसदहरू जिल्लामा रहेका बेला समेत बजेट थप गर्न नसकिएको अवस्था नाजुक मानिएको छ। सडक निर्माणका लागि बजेट ल्याउने वाचासहित जनप्रतिनिधिहरूबीच देखिएको होडबाजी, अपनत्वको स्पर्धा र सार्वजनिक मंचका तर्कहरू बजेट बिनाको खाली नारामा परिणत भएका छन्।

नेपाली सेनाले सडक निर्माणको काम पाएको वर्षौं भए पनि बजेट नहुँदा धेरै महिना प्राविधिक र श्रमिकहरू बेरोजगार जस्तै बस्नुपर्ने अवस्था आएको छ।

यसैबीच, माओवादी केन्द्रका जिल्ला सचिव विनोद सिंह कुवँरले सरकारमा रहेका प्रतिनिधिहरूलाई सीधा प्रश्न गरेका छन् – “सरकार आफ्नै दलको हुँदा, पहुँच पनि भएकाहरू हुँदा पनि सडकजस्तो जीवन्त योजनामा बजेट थप गर्न नसक्ने हो भने जनताले भरोसा कसमा गर्ने?”

कुवँरले स्मरण गराएका छन् कि माओवादीकै नेतृत्वमा तिङ्कर सडकको शिलान्यास र प्रारम्भ भएको थियो, र अहिले पनि उक्त सडक माओवादीको पालो कुर्दै बसेको जस्तो देखिन थालेको छ।

‘एक तिर, दुई सिकार’ भन्दै उनले जिल्लाकै गौरवको योजनामा बजेट ल्याउन असफल भएका दुई सांसदहरूको असक्षमताले राष्ट्रिय योजना मात्र होइन, सीमावर्ती बस्तीका जनतालाई समेत दोहोरो पीडामा पारेको टिप्पणी गरेका छन्।

उनको भनाइमा, “यदि फेरि पनि जनताले चेतना नपुर्‍याई फरक दल, फरक व्यक्ति नचिन्ने हो भने यो भन्दा ठूलो पीडा र उपेक्षा भोग्नुपर्नेछ।”

अबको एजेण्डा – तिङ्कर सडक: विकास, सुरक्षाको मेरुदण्ड

दार्चुलाको लागि राष्ट्रिय मञ्चमा पुर्‍याउन सकिने सबैभन्दा बलियो एजेण्डा अहिले पनि तिङ्कर सडक नै हो। यो एजेण्डालाई बेवास्ता गर्ने हो भने, दार्चुलावासी अझ धेरै वर्ष विकासबाट टाढा रहन बाध्य हुने निश्चितजस्तै छ।

✍️विनोद सिंह कुवँर
व्याँस गाउँपालिका उपाध्यक्ष एवम्
जिल्ला सचिव, नेकपा (माओवादी केन्द्र)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment