Comments Add Comment

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु


केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना: चालकसहित सातैजनाको मृत्यु

१ असार २०८२, दार्चुला।

भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ जाँदै गरेको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ। आर्यन एभिएसन कम्पनीको हेलिकप्टर त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार चालकसहित सातैजनाको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्।

दुर्घटना बिहानको समय गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै भएको हो। हेलिकप्टर देहरादूनबाट उडेको थियो र केदारनाथ मन्दिरतर्फ गन्तव्यमा थियो। तीर्थयात्रीहरू बोकेको सो हेलिकप्टर अत्यधिक कुहिरो तथा खराब मौसमका कारण दुर्गम भेगमा ठोक्किएर खसेको प्रारम्भिक अनुमान गरिएको छ।

भारतीय नागरिक उड्डयन प्राधिकरण र उत्तराखण्ड प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार कार्य थालिएको जनाएको छ। घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धारमा केही कठिनाइ भए पनि शवहरूको पहिचान तथा उद्दार प्रक्रिया अगाडि बढाइएको छ।

प्राप्त विवरण अनुसार हेलिकप्टरमा सवार सबैजना भारतका विभिन्न राज्यका तीर्थयात्री थिए भने चालक अनुभवी पाइलट रहेको बताइएको छ। घटनापछि भारतको नागरिक उड्डयन मन्त्रालयले तत्काल अनुसन्धान समिति गठन गरेको छ।

केदारनाथ क्षेत्रको धार्मिक, पर्यटन तथा उड्डयन सुरक्षा सम्बन्धमा पुनः बहस चर्किएको छ। मौसम प्रतिकूल हुँदा पनि हेलिकप्टर उडान नियमित हुने गरेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

यस दुःखद घटनाले केदारनाथ दर्शनका लागि हेलिकप्टर सेवा लिने तीर्थयात्रीहरूमा त्रासको वातावरण सिर्जना भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment