रौतहटमा स्कर्पियो दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु
२५ मंसिर २०८१, दार्चुला।
बारा जिल्लाको गढीमाई मन्दिरको दर्शन गरेर फर्कने क्रममा रौतहटमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। मङ्गलबार बिहान रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको र बालबालिकासहित ४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा१६च३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको बुझिएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र ४० वर्षीय स्कर्पिओ चालक श्रीकुमार यादवको मृत्यु भएको छ । सिराहा जिल्ला अर्नामा गाउँपालिका कि ३० वर्षीय राधाराम, दुई वर्षे आर्यन राम, २५ वर्षीय देवकुमारी महरा, ७ वर्षीय ऋतिक महरा, ६० वर्षीय कन्यादेवी महरा रहेका छन् गम्भीर घाइते भएकी कन्यादेवी महराको बीरगञ्जस्थित बयोदा अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको उपचार चन्द्रपुरस्थित हाइवे ट्रमा अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।







