गोकुलेश्वर, दार्चुला एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दार्चुलाको जिल्ला भेला तथा बैठक शनिबार गोकुलेश्वरमा भव्यताका साथ सम्पन्न भएको छ। संगठनकी उपाध्यक्ष रेखा कार्कीको अध्यक्षतामा भएको उक्त भेलाले प्रकाशसिंह ठगुन्नाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
भेलाले खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह ठगुन्नाको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको छ। समितिको पदाधिकारीहरू निम्न बमोजिम रहेका छन्:
* अध्यक्ष: प्रकाशसिंह ठगुन्ना
* उपाध्यक्ष: रेखा कार्की
* सचिव: रामसिंह डोबाल
* कोषाध्यक्ष: वीरभान धामी
कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार तथा जिल्ला इन्चार्ज श्यामराज जोशी, प्रदेश परिषद् सदस्य जनकसिंह धामी र नेपाल कम्युनिस्ट पार्टीका नेता पदमराज पन्तको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले शिक्षकहरूको हकहित, शैक्षिक सुधार र संगठनको सुदृढीकरणमा जोड दिएका थिए।
पार्टी प्रवेश र आगामी योजना
कार्यक्रमको एक विशेष अवसरमा नेपाल शिक्षक संघ परित्याग गरी हुनैनाथ माध्यमिक विद्यालय, रातारातका शिक्षक दीपक बहादुर सिंह एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन्। उनलाई संगठनका नेताहरूले खादा ओढाएर स्वागत गरेका थिए।
बैठकले संगठनको संगठन विस्तारलाई तीव्रता दिने निर्णय समेत गरेको छ। जसअन्तर्गत आगामी दिनमा जिल्लाका सबै पालिका स्तरमा बैठक तथा भेलाहरू आयोजना गर्ने कार्यक्रम तय गरिएको सचिव रामसिंह डोबालले जानकारी दिए।






