Comments Add Comment

धामीको स्थानमा भट्ट: माओवादी संसदीय दलमा सर्वसम्मत नयाँ नेतृत्व

धामीको स्थानमा भट्ट: माओवादी संसदीय दलमा सर्वसम्मत नयाँ नेतृत्व



दार्चुला, जेठ ६ — शारदा पन्त।
झन्डै १६ महिनापछि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वमा परिवर्तन भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा भएको निर्णय अनुसार केन्द्रीय स्थायी कमिटी सदस्य खगराज भट्टलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको हो।

पूर्व संसदीय दलका नेता मानबहादुर धामी ‘सन्तोष’को अध्यक्षतामा २०८२ जेठ १ गते बसेको संसदीय दलको बैठकले भट्टको नाम प्रस्ताव गर्दै निर्णय गरेको थियो। उक्त निर्णय २०८२ जेठ ५ गते प्रदेशसभाका सभामुखलाई औपचारिक पत्रमार्फत जानकारी गराइएको हो।

नेता धामीले सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै पार्टीको निर्णयमा पूर्ण समर्थन जनाएका छन्। उनले भनेका छन्, “झन्डै १६ महिनाको लामो अन्तरालपछि देखिएको सामान्य अन्तरविरोध र लोकतान्त्रिक प्रक्रियालाई पार्टी अध्यक्ष कमरेड प्रचण्डको निर्देशनअनुसार संस्थागत निर्णयमा रूपान्तरण गरेका छौं। खगराज भट्टलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न पाएकोमा खुसी छु।”

धामीले यसअघि पनि पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट दुईपटक जिम्मेवारी हस्तान्तरण गरेको उल्लेख गर्दै पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। उनले लेखेका छन्, “आफ्नो जिम्मेवारी संसदीय दलको नेता हुँदाखेरि जस्तोसुकै चुनौतीमा पनि बहन गरेँ, अब आउने जिम्मेवारी अझै गहन ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

नवनियुक्त दलका नेता खगराज भट्ट सुदूरपश्चिमको सशक्त र अनुभवी नेता मानिन्छन्। आगामी दिनमा प्रदेशको राजनीतिक र विकासमा उनी सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment