दार्चुलाको खलंगा बजारमा नयाँ ११ केभी लाइन सञ्चालनमा
दार्चुला, बैशाख २४ – शारदा पन्त।
नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रको पहल तथा अनुरोधमा खलंगा बजार क्षेत्रको विद्युत आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन हालै एक महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ। नेपाल विद्युत प्राधिकरणको दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनाको ठेक्का मार्फत निर्माण व्यवसायी Cosmic Electrical द्वारा ११ केभी छुट्टै विद्युत लाइन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।
थालिगाड सबस्टेशनमा परिक्षण तथा टेष्टिङ लगायत सम्पूर्ण तयारी कार्य दार्चुला वितरण केन्द्र र आयोजनाको सहकार्यमा २०८२ साल बैशाख २० गते सम्पन्न गरिएको थियो। सोही तयारी पश्चात् २०८२ बैशाख २३ गते, नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख बिक्रम कुमार अमात्य को निर्देशनात्मक भ्रमणको अवसरमा उक्त ११ केभी फिडर लाइनलाई थालिगाड सबस्टेशनबाट विधिवत चार्ज गरी सञ्चालनमा ल्याइएको हो।
यस कार्यान्वयनबाट दार्चुलाको खलंगा बजार क्षेत्रसहित दुहुँ, ब्याँस लगायत अन्य क्षेत्रका बासिन्दाले नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ। विद्युत सेवा अझ प्रभावकारी हुने विश्वास लिइएको छ।
यस महत्वपूर्ण योजनामा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबै निकाय, कर्मचारी तथा निर्माण कम्पनीप्रति नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले विशेष धन्यवाद प्रकट गरेका छन्।







