मुकुटको होइन् – मुलुकको हितले स्थान पाएको दिन- प्रधानमन्त्री ओली
दार्चुला, १५ जेठ २०८२ – शारदा पन्त ।
आज नेपालमा १८ औं गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाइँदै छ। यो ऐतिहासिक दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा गणतन्त्र दिवसलाई जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको विजय र नागरिक स्वाभिमान स्थापित भएको दिनका रूपमा स्मरण गर्नुभयो। “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज,” उहाँले भन्नुभयो, “मुकुटको होइन—मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन।”
उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूलाई गणतन्त्रको गरिमालाई आत्मसात् गर्दै देशको समृद्धि र एकताका लागि योगदान पुर्याउन आह्वान गर्नुभयो। “जय-जय-जय नेपाल!” भन्दै उहाँले देशप्रतिको गर्व र एकताको सन्देश व्यक्त गर्नुभयो।
नेपालले २०६५ जेठ १५ गते औपचारिक रूपमा गणतन्त्र घोषणा गरेको थियो, जसले २४० वर्ष लामो राजतन्त्रको अन्त्य गर्दै जनताको शासन स्थापना गरेको थियो। आजको दिनमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। काठमाडौंको टुँडिखेलमा विशेष समारोहसहित गणतन्त्र दिवस मनाइँदै छ, जहाँ राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने छ।
गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने देशभर विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। यो दिनले नेपाली जनताको स्वतन्त्रता, समानता र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।






