बाजुरामा जिप दुर्घटना : टेलिकम शाखा प्रमुखसहित तीनजनाको मृत्यु, दुई घाइते
बाजुरा, जेठ १३ — बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा भएको जिप दुर्घटनामा नेपाल टेलिकम बाजुरा शाखा कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा नेपाल टेलिकम बाजुरा शाखा प्रमुख लोकबहादुर खड्का, रविन्द्र धामी र जिप चालक कर्ण महत रहेका छन्।
घाइते हुनेमा बुढिनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्द तिरुवा र सोही स्थानका अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरुवा रहेका छन्।
दुर्घटना आज विहान भएको हो। पिलुचौरबाट काँडाकोटस्थित नेपाल टेलिकमको टावरमा ब्याट्री जडान गर्न गएका टोली चढेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।






