दार्चुला, असार ४ – शारदा पन्त।
लेकम गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता मिति २०८२ असार ४ गते सम्पन्न भएको छ। प्रतियोगितामा गाउँपालिका अन्तर्गतका १० वटा माध्यमिक विद्यालय (कक्षा ९–१०) का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन शिक्षा शाखा प्रमुख चुडामणि अवस्थीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको उपस्थिति रहेको थियो। साथै निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडा नं. ४ का अध्यक्ष महेन्द्र जोशी, वडा नं. २ का अध्यक्ष शिवराज जोशी, वडा सदस्यहरू हरिदत्त भट्ट (वडा २) र चञ्चल सिंह खत्री (वडा ६) लगायत अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
प्रतियोगितामा कूल ८२ वटा प्रश्न सोधिएका थिए। ऐडिबाग मावि मैखोलीले १२ नम्बर ल्याउँदै प्रथम स्थान हासिल गरेको छ। लटिनाथ मावि चौपाताले ११ नम्बर ल्याउँदै द्वितीय तथा केदारनाथ मावि धरमघरले १० नम्बर ल्याउँदै तृतीय स्थान प्राप्त गरेका छन्।
अन्य विद्यालयहरूको प्रदर्शन:
हुनैनाथ मावि रातामाटा – ९ नम्बर
हुनैनाथ मावि कुणी – ७ नम्बर
गल्लाकेदार मावि खरकडा – ६ नम्बर
मालिकार्जुन मावि तेलिगाउँ – ४ नम्बर
कृष्ण मावि लाली – ३ नम्बर
बडिपुर मावि सर्मोली – ३ नम्बर
गणेश मावि गणागाउँ – २ नम्बर
प्रतियोगितामा विजयी विद्यालयहरुलाई क्रमशः नगद पुरस्कार प्रदान गरिएको छ। प्रथम विद्यालयलाई रु.१६,१२५, द्वितीयलाई रु.१३,१२५ र तृतीयलाई रु.१०,१२५ प्रदान गरिएको हो।
यस्तै, प्रथम स्थान प्राप्त गरेका ऐडिबाग माविका विद्यार्थीहरू हिमाद्री, जयन्ती, अनिल र रोहित जोशीलाई स्कुल ब्याग, सामान्यज्ञान पुस्तक र जियोमेट्री बक्स प्रदान गरिएको छ।
द्वितीय हुने लटिनाथ माविका विद्यार्थीहरू सुवास जोशी, बबिता विष्ट, नविन पाए र एन्जिल जोशीलाई स्कुल ब्याग, डिक्सनरी, क्याल्कुलेटर र जियोमेट्री बक्स दिइएको छ।
त्यस्तै, तृतीय स्थान प्राप्त केदारनाथ मावि धरमघरका विद्यार्थीहरू ज्योति भट्ट, सृष्टि जोशी, धर्मानन्द भट्ट र जनक भट्टलाई स्कुल ब्याग, सामान्यज्ञान पुस्तक र जियोमेट्री बक्स प्रदान गरिएको छ।
सहभागी सम्पूर्ण विद्यालयका विद्यार्थीहरूलाई सामान्यज्ञान पुस्तक र जियोमेट्री बक्स वितरण गरिएको शिक्षा शाखा प्रमुख अवस्थीले जानकारी दिए।
उक्त कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनको प्रेरणा जगाउनुका साथै समुहगत उत्तरदायित्व र प्रतिस्पर्धात्मक भावना विकास गर्न योगदान पुर्याएको सहभागी शिक्षक दुर्गा दत्त पाठकले जानकारी दिएका छन्।






