दार्चुला: दार्चुलाको नौगाड गाउँपालिका-४, होपरी गाउँ नजिकैको भैरवधार भन्ने स्थानमा आज बिहान करिब ७:३० बजेतिर एक जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
गोबेजात्राबाट फर्किदै गरेको ग. ३ च. ३३५१ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको थियो। दुर्घटनाग्रस्त जीपमा चालकसहित ११ जना सवार थिए।
घाइतेहरूको विवरण:
दुर्घटनामा घाइते हुनेहरूमा चालक नौगाड-४ का लोकेन्द्र सिंह ठगुन्ना सहित निम्न व्यक्तिहरू रहेका छन्:
१ – नौगाड-४ का ३४ वर्षीय उमेश ठगुन्ना
२- नौगाड-४ की ४० वर्षीया रम्भा महता
३- नौगाड-४ का ३० वर्षीय मोहन सिंह ठगुन्ना
४- नौगाड-४ की २५ वर्षीया पार्वती टमटा (गर्भवती)
५- मार्मा गाउँपालिका-५ की १७ वर्षीया अप्सरा महता
६- नौगाड-४ का १२ वर्षीय राम महता
७- नौगाड-४ का १२ वर्षीय श्याम महता
८- नौगाड-४ की १४ वर्षीया कान्छि महता
९- अपिहिमाल गाउँपालिका-४ की १९ वर्षीया लक्ष्मी कार्की
१०- नौगाड-४ का ७२ वर्षीय गम्वा महता
नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले दिएको जानकारीअनुसार, सबै घाइतेहरूलाई तत्काल उद्धार गरी गोकुलेश्वर अस्पताल पुर्याइएको छ। गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि अन्यत्र पठाउन मार्मा र शैल्यशिखरका एम्बुलेन्ससँग समन्वय भइरहेको उनले बताएका छन्।






