८४ सम्म एमाले-कांग्रेस मिलिराखे माओवादी खोज्नुपर्ने हुनसक्छ : सांसद महेश बर्तौला
१३ वैशाख २०८२, दार्चुला – शारदा पन्त।
प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का नेता मुख्यसचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीचको मिलन लामो समयसम्म कायम रहेमा माओवादी केन्द्रको अस्तित्व संकटमा पर्न सक्ने बताएका छन्।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बर्तौलाले भने, “यदि २०८४ सालसम्म कांग्रेस र एमाले मिलिरहे भने माओवादी पार्टी खोज्नुपर्ने स्थिति आउन सक्छ। अहिले माओवादीले जुन हैसियत राखेको छ, त्यो कमजोर हुँदै गएको देखिन्छ।”
उनले सत्तारूढ गठबन्धनको दीर्घकालीन रणनीति विफल हुने दाबी गर्दै राष्ट्रिय राजनीति स्थायित्वको लागि स्पष्ट धारणाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
बर्तौलाको यो भनाइ सत्तारूढ दलहरूबीच चर्किंदै गएको अविश्वास र आगामी निर्वाचनको सन्दर्भमा भइरहेको रणनीतिक समीकरणसँग जोडिएको मानिएको छ।






