दार्चुला, असार ६ —शारदा पन्त।
‘लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०८२’ का अवसरमा दार्चुलामा साप्ताहिक जनचेतनामूलक अभियानको थालनी गरिएको छ। ‘जुन २० देखि २६’ सम्म मनाइने अन्तर्राष्ट्रिय सप्ताहको अवसरमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो।
दार्चुला सदरमुकाममा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्ला समन्वय अधिकारी गणेश पाल, सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामी, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालय प्रमुख रामचन्द्र ओझा, सशस्त्र प्रहरी बलका एसपी देवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ दार्चुला अध्यक्ष राजेन्द्र सिंह धामी, क्याम्पस प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा जिल्लास्तरीय शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा लागू औषध सम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै सबै निकायले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो। छलफलमा सहभागीहरूद्वारा विद्यालय, सामुदायिक समूह, सञ्चारमाध्यम र सुरक्षासंस्थाबीच समन्वय गर्दै सचेतना अभिवृद्धिका कार्यक्रम सन्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरियो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीका अनुसार आजैदेखि एक साता विभिन्न विद्यालयहरूमा सचेतना कार्यक्रम, नाराबाजी, देउडा/साँस्कृतिक कार्यक्रम, प्रभातफेरी तथा रेडियो कार्यक्रममार्फत अभियान सन्चालन गरिने छ।
लागू औषध विरुद्ध अन्तर्राष्ट्रिय दिवस – तथ्य संक्षेपमा:
यो दिवस हरेक वर्ष जुन २६ तारिखमा मनाइन्छ।
सन् १९८७ मा संयुक्त राष्ट्रसंघले लागू औषध दुरुपयोग तथा ओसारपसारविरुद्धको सचेतना अभिवृद्धिका लागि दिवस घोषणा गरेको हो।
दिवसको उद्देश्य: लागू औषध सेवनको हानिकारक प्रभावबारे जानकारी दिने, अवैध कारोबार विरुद्ध साझा आवाज बुलन्द गर्ने।
२०२५ को अन्तर्राष्ट्रिय नाराः “The evidence is clear: invest in prevention”.
कार्यक्रमको समापनमा सहभागी सबै निकायहरूले लागू औषधको दुष्परिणामविरुद्ध एकजुट भई जिल्लाभर जनचेतना फैलाउने प्रतिबद्धता जनाएका थिए।






