Comments Add Comment

केदारेश्वरी मावि सुन्डमुन्डमा ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

३१ जेठ २०८२, नौगाड दार्चुला।
दार्चुला जिल्लाको नौगाड गाउँपालिका–२ मा अवस्थित केदारेश्वरी माध्यमिक विद्यालय, सुन्डमुन्डले आफ्नो ६५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। दुई दिने कार्यक्रम जेठ २९ र ३० गते विद्यालय परिसरमै विविध कार्यक्रमसहित सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष संगीता ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथिको रूपमा नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामीले उपस्थिति जनाएका थिए। साथै प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, वडा नं. २ का अध्यक्ष नारायण सिंह ठगुन्ना, अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

दुई दिने कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, खेलकुद तथा प्रतियोगितामा भाग लिएका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले शैक्षिक प्रगति, भौतिक पूर्वाधार तथा भावी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment