सुदूरपश्चिम पुगेका प्रचण्डलाई दार्चुलाबाट एक सहिदका छोराको सन्देश
१६ वैशाख २०८२, दार्चुला।
तराई मधेस जनजागरण अभियान संगै सुदूरपश्चिम पुगेका माओवादी केन्द्र का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दार्चुलाबाट सहिदका छोराले सन्देश पठाएका छन्।
के लेखेका छन् त ?
“——–म अहिले २३ वर्षको भए
कमरेड प्रचण्ड तपाईले चलाएको ‘तराई मधेस जनजागरण अभियान’ पार्टी निर्माणको आधार हो की, हेडक्वाटरको वरिपरि, दायाँबायाँ र तलमाथि का माओवादी लाई विक्षिप्त बनाउने गणतान्त्रिक मण्डले हरुको उपस्थितिमा स्टन्ट को खेतिपाती हो ?
मैले नबुझेको कुरो! माओवादी ८४ मा शक्तिशाली बनाउने आधार यस्तै स्टन्ट गरेर सम्भव छ, या फरक तवरले अभियान सन्चालन गर्न जरुरी छ ?
सुन्नुहोस्, अहिले नेपाली जनताले तपाईको गलामा लगाइदिएको माला, तपाइको विचार संकुचित बनाई प्रचण्ड लाई घेरामा राखि गरेको भेला लाई महत्त्व दिएका छैनन् , यो तरिकाले तपाईले दिन गुजारा गर्नुहोला तर पार्टीप्रति नेपाली जनताको सहानुभूति बटुल्न सकिरहनु भएको छैन्।
हुन् त म जस्ता फिस्टेका कुरा तपाइँको वरिपरिका जुकाहरुले तोडमरोड गरेर पुगाउँलान या त्यो भन्दा पहिले नै यस्ता पोष्टहरु लेखेका पेज, एकाउन्ट हरुलाई ब्लक हानेर देख्नै नपाउने बनाइदेलान् तर म परिवर्तनको शुभचिन्तक भएर नै यो लेखिरहेको हो यो तपाईसंग पुगोस् या नपुगोस् मतलब भएन्। मेरो साइनो माओवादी संग जोडिएकाले लेखिरहेको हो।
प्रचण्डले मर्निङ वाक गर्दा झापामा जति वरिपरि देखिएका थिए उनै उतिकै कन्चनपुर पुग्दा पनि देखिन्छन् , प्रचण्डले कुनै सहिदको घरमा पुग्दा उनै छन्, भेट पनि अलिकति हुनेखाने कै घरमा भइरहेको कुरो छ , अनि यो तरिकाले माओवादीको आकार बढ्छ भन्ने तथ्य के छ ?
प्रचण्ड, तपाईको नेतृत्वमा संघिय लोकतान्त्रिक गणतन्त्र को मेरुदण्ड गाडियो यो लुकाएर लुक्दैन तर यहि परिवर्तनका लागि जीबन बलि चढाएका र तपाई भनेर नै माओवादीमा लागेकाहरुको हालत के छ ? तपाईं पछिल्लो समय प्रधानमन्त्री बन्नुपूर्व यतिका वर्ष सम्म सत्तामा रहँदा के सोच्नुभयो ? खैर प्रश्नहरु तमाम छन्….
तपाईं लाई फुरुङ्ग बनाउनेको कमि छैन्, एमाले संग गठबन्धन गर्दा एमालेले नै तपाई मात्रै यो देशको गतिशील नेता हो भनि प्रचार गरिदियो, कांग्रेस संग गठबन्धन गर्दा कांग्रेसले गिरिजा जस्तै मानिदियो अनि दिनदिनै तपाईको चाकडी गर्नेहरुको त कमि नै छैन्। हुदाँहुदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समेत यो देश प्रचण्डको इसारामा चलिरहेको छ भनिदिए भनिरहेका पनि छन्।
तर, यिनै भनाईहरुमा लिप्त भएर आफ्नै मर्नेबाटो सोज्याउने भए त मेरो भन्नु केहि छैन् यदि क्रान्तिकारी पार्टी हो र क्रान्तिकारी हरुलाई गोलबद्ध गर्ने योजना हो भने त्यो अनुरूपको व्यवहार फेर्नुपर्ने देखिन्छ।
▪️तपाईं आफुलाई सुधार्नुहोला नहोला आफ्नो ठाउँमा छ तर भन्ने कुरा त सिधै भनिदिनमा किन कमि राखु र म ?
१- जुन माला तपाइको गलाका लागिरहेको थियो त्यो माला उनै तपाईप्रेमी लाई लगाइदिनु पर्थ्यो कि नाई,
२- तपाईले कमरेड रेणु दाहालको सरलताबाट पनि सिक्नुपर्थ्यो कि वरिपरिका लाई साइड लगाएर भेट्न आएका लाई सहजता महसुस गराउनुपर्थ्यो कि नाई।
३- यो बेला खेतिपाती भित्र्याउने र अन्नबाली लगाउने पनि हो तर यतिको लामो बाटोमा किसानको खेतमै पुगेर भेटघाट गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?
४- तपाईले VIP गाडि छोडेर सार्वजनिक बस, टेम्पो,रिक्सामा चढेर जनतासंगै यात्रा गरि सार्वजनिक यात्रा कतिको दुखदायी छ भन्ने बुझ्नुपर्थ्यो कि नाई ?
५- जुनजुन गाउँ पुग्नुभयो जुनसुकै पार्टीका भएपनि बौद्धिकवर्ग, शिक्षक, कर्मचारी एवम् आम सर्वसाधारणलाई आफै ढोका ढकढक्याएर माओवादी जनयुद्धकाल जस्तै एकपल्ट मौका दिनुहोस् भन्न सक्नुपर्थ्यो कि नाई ?
६. सार्वजनिक यातायातमा पिडा भोगिरहेका यात्रु, खेतिपातीमा पिडा भोगिरहेका किसान, खानेपानी सिंचाईको पिडा भोगिरहेका उपभोक्ता, (गास,वास र कपास) कै लागि धौ धौ भइरहेका सुकुम्बासी हरुलाई नभेटिकनै के – को जनजागरण अभियान हो त कमरेड ?
नोट: यो अभियान जनता संग माओवादी भन्दा पनि प्रचण्डको पहुँचमा भएकाहरुको घेराबन्दी थियो किन नभन्ने ? हो, म बुझ्दछु । तपाई, तपाईको दौतरीका नेताहरु भन्दा फरक हुनुहुन्छ तर तपाई संग परिवर्तन हुने क्षमता छ भनेर नै यो लेखेको हो। तपाईंको अहित चिताएर होइन् कि तपाईंको जस्तो विचार भएकाहरुलाई माझिन प्रयास होस् भनेर लेखेको हो। एकथरीले प्रचण्ड पार्टी बनाउन भन्दा पनि आउने महाधिवेसनमा नेतृत्व लागि भागदौड गरिरहेका हुन् भनेका छन्, आफ्नो बहुमत जुटाउन उपराष्ट्रपति भएकालाई पनि पार्टीको चौथौं दर्जादिई तपाई संग प्रतिस्पर्धा गर्न सोचिरहेकाहरुलाई काउन्टर हो भनेका छन् तर तपाईको ध्यान सत्तामा जानुपर्छ भन्नेतिर गइसकेको छ।
म माओवादी कै परिवार हो राज्यले हाम्रा परिवार विरुद्ध त्यो बेला के-के गर्यो लेख्न शब्द छैन् बुबाको हत्या गर्यो आमालाई यातना दियो मेरी दिदीलाई तत्कालीन साहिसेनाहरुले बलत्कार गरी आमाकै अगाडि मारेको पिडा मैले आजभोलि महसुस गर्ने गर्छु तर मेरा साथीहरु राजा फर्काउ भन्ने अभियानमा छन् मेरो संगत पनि उनै संग छ मेरो दिमाग उनीहरुतिर पनि मोडिन्छ किनकी ६२/६३ पछि माओवादी ले आफ्नो लाईन छोडेर पुजिपति भ्रष्टाचारी बाटो अबलम्बन गरेकै कारण हो तर साच्चिकै कमरेड प्रचण्ड तपाई १८ महिना प्रधानमन्त्री बनेर शुसासनको अभियान चलाउनु भयो नि पूर्व प्रधानमन्त्री, गृहमन्त्री हरुलाई पनि पक्राउ गर्नुभयो नि ,त्यसैकारण म पनि माओवादी नै छु, यस्तै आरजुलाई पनि पक्रेको भए त हाइहाइ नै हुन्थ्यो होला तर ढिला गर्नुभयो , केटाहरुलाई पनि ८४ पछि राप्रपा हुला भनिराछु तर बिडम्बना जति भ्रष्टाचार गरेपनि भोट त एमाले कांग्रेस ले नै पाउँछन्, त्यहि भएर अचम्म लाग्छ 🤣
——म विषय बाहिर गए सरी कमरेड प्रचण्ड,
सत्ता एमाले कांग्रेस ले चलाइरहेका छन्। आउँदो चुनाव सम्म उनीहरुलाई नै चलाउन दिए तपाईलाई के को घाटा हुन्छ ? के तपाईँको पार्टी सक्किने हो ? सत्तामा किन जाने ? कांग्रेस संग मिलेर सत्तामा गए के आरजुलाई पक्राउ गरि अनुसन्धान गर्न सक्ने हो ? या एमाले संग मिलेर एमालेको गिरिबन्धु टि स्टेट भुटानी शरणार्थी विरुद्ध नेतृत्वलाई नै अट्याक गर्न सक्ने हो ? तपाईंको ल्याकत ३२ सिट छ तपाईंले बहुमत प्राप्त गरि भ्रष्टाचार विरुद्ध अट्याक गर्न ८४ मा १५० बढी सिट जित्नुपर्छ, के एक्लै अहिले कै माओवादीले लडेर त्यति सिट प्राप्त गर्न सक्छ ? को हुन् त ति १५० बढी सिट जित्न सक्ने माओवादीका अनुहारहरु ? के यहि व्यवस्थामा यो सम्भव छ ?
हो, एकैछिन बिचार गरौं त तपाईंसंग जनयुद्ध लडेका माओवादीहरुलाई पुन: एकपटक अवस्था परिवर्तन र शुसासनका लागि एकजुट भई ०८४ मा संगै लडौं भन्न सक्नुहुन्छ ? के माओवादी फुटाएर १२ टुक्रा भएकाहरु एक हुन सक्छन् ?
प्रचण्ड अहिले तपाईको वरिपरि खान पल्केकाहरु मात्रै छन् तपाईले क्रान्तिकारी हरुलाई र तपाई प्रति प्रश्न गर्नेलाई पाखा लगाउनुहुन्छ र पो पार्टी सकिएको हो यदि हिम्मत भए आउदो अधिवेशनमा माओवादीको केन्द्रिय अध्यक्षको उम्मेदवार बन्ने ल्याकत राख्नु तपाई सबै मिल्नु तै पनि म तपाईँ विरुद्ध अध्यक्ष पदमा उठेर माओवादी लाई साच्चिकै क्रान्तिकारी पार्टी एवम् समाजवाद उन्मुख बनाएरै देखाइदिने छु।
हवस् कमरेड लालसलाम, जयनेपाल अबको चुनावमा लालसलाम नै एकठाउँमा हुनुपर्छ है! अहिले त कांग्रेसको पनि मन दुख्ला भनेर जयनेपाल भनेको अनि अन्तमा राष्ट्रिय भावको जय नेपाल।
{पढेपछि पक्का पनि कमरेडलाई रिस उठ्छ होला यो लेख्ने को रहेछ ? भन्ने लाग्ला तर त्यसो नसोच्नु २४० वर्षे निरकुंश व्यवस्था फाल्ने प्रचण्डकै पार्टीको सदस्य हुँ मजस्ता युवाहरुले मात्रै यो पार्टी हाक्न सक्छन् तपाईं मर्निङ वाकमा निस्किनुभाछ म प्रत्येक दिन खेतमा काम गर्छु,भैसी पाल्या छु ,दुध पिउँछु,घिउ बेच्छु अनि कहिलेकाहीँ सोल्टिहरु संग अबको नेकपा माओवादी केन्द्र हाक्ने र भविष्य को यो देशको कार्यकारी प्रमुख म नै हो भन्छु साथीहरु हाँस्छन् मलाई बाल मत्लब!}
यो दार्चुलाको सन्देश हो !
✍️ सहिदको छोरा , नाम उल्लेख गर्न नचाहेका।”







