महाकाली कोरिडोरको बजेटमा बेवास्ता: सांसद विकको सरकारप्रति कडा आक्रोश
दार्चुला, जेठ १६ — शारदा पन्त।
सुदूरपश्चिम प्रदेशकी सांसद लक्ष्मी विकले संघीय बजेटमा सामरिक र विकासका दृष्टिले महत्वपूर्ण मानिएको महाकाली कोरिडोरलाई उपेक्षा गरिएको भन्दै कडा आलोचना गरेकी छन्।
भारत र चीनसँग जोडिएको पश्चिमी सीमाक्षेत्रको विकास मेरुदण्ड मानिएको उक्त कोरिडोरको लागि बजेट बुँदा नम्बर २६० मा कुनै रकम उल्लेख नगरिनु गठबन्धन सरकारको कमजोरीको प्रतीक भएको सांसद विकको टिप्पणी छ।
“देशका अन्य कोरिडोरहरूमा अर्बौं रुपैयाँ विनियोजन हुँदा, सीमावर्ती र सामरिक हिसाबले अति संवेदनशील महाकाली कोरिडोरलाई बेवास्ता गर्नु गम्भीर लापरवाही हो,” सांसद विकले भनिन्।
उनले याद दिलाइन् कि यो कोरिडोर २०६५ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सुरु भएको परियोजना हो, जसलाई निरन्तर उपेक्षा गर्दै आएको राज्यले सीमावर्ती जनताको अपेक्षा र राष्ट्रिय सुरक्षालाई अपमानित गरेको संकेत दिएको बताइन्।
“यो सडक केवल यातायातको साधन नभई राष्ट्रिय सुरक्षा, कूटनीतिक सन्तुलन र सीमान्त क्षेत्रको समावेशी विकासको आधार हो,” विकले जोड दिइन्।
उनले संघीय सरकारलाई कोरिडोर निर्माणको काममा तत्काल बजेट व्यवस्था गरेर कार्यान्वयनमा उत्रन आग्रह गरेकी छन्।






