नौगाड गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच बुँदागत सम्झौता
२४ पुस २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिका र ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौँ ‘ बीच बुदाँगत सम्झौता भएको छ।
खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यावसायिक रुपमा सक्षम संस्थाको रुपमा स्थापित हुने लक्ष्यका साथ स्थापना भएको ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौँ ‘ र ‘नौगाड गाउँपालिका दार्चुला’ बीच निम्न उद्देश्य र भूमिका हुनेगरी गाउँपालिकामा खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको हो भनि नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिएका छन्।
(क) सम्झौताका उद्देश्यहरु:
१- दुर्गम क्षेत्रका जनतालाई सहज/ सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गर्ने,
२- खाद्यान्नको सङ्कलन, मौजदात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने,
३- स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने,
(ख) सम्झौताका प्रमुख भूमिका तथा जिम्मेवारीहरु:
१- खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापनको काम कम्पनीले गर्ने,
२- जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालनको काम कम्पनीले गर्ने,
३- स्थानीय तहले संकलन गरेका रैथाने बालीहरूको खरिद र बजारीकरणको काम कम्पनीले गर्ने,
४- नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्तिको सुनिश्चितता कम्पनीले गर्ने,
५- गोदाम, विद्युत र बिक्री कक्षको व्यवस्थापन गाउँपालिकाले गर्ने,
६- स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन गाउँपालिकाले गर्ने,
७- खाद्यान्न मौजदात व्यवस्थापनको अनुगमन र निगरानी गाउँपालिकाले गर्ने,
८- स्थानीय कृषक र उत्पादकहरूलाई प्रोत्साहन अनुदान तथा आवश्यक तालिमको व्यवस्था गाउँपालिकाले गर्ने,
९- विद्यालय दिवा खाजा सञ्चालनमा सहजीकरण गाउँपालिकाले गर्ने,
इतिसम्वत् २०८१ साल पौष २४ गते रोज ४ शुभम्







