विश्व प्रेस स्वतन्त्रता दिवस: अभिव्यक्तिको स्वतन्त्रता र पत्रकारिताको सम्मानमा समर्पित दिवस
दार्चुला, वैशाख २० — आज (मे ३ तारिख) नेपाल सहित विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को पहलमा सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो।
यस वर्षको नारा “Press for the Planet: Journalism in the Face of the Environmental Crisis” अर्थात् “पर्यावरण संकटका बीचमा पत्रकारिता: पृथ्वीको पक्षमा प्रेस” रहेको छ। यस नाराले वातावरणीय मुद्दालाई सम्बोधन गर्ने पत्रकारिताको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको छ।
नेपालमा पनि यो अवसरमा विभिन्न कार्यक्रम, गोष्ठी र विचार–विमर्शहरू आयोजित छन्। सञ्चार माध्यमका प्रतिनिधिहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न र पत्रकारहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघका अनुसार, पछिल्लो समय पत्रकारहरूमाथि आक्रमण, धम्की, सेन्सरसीप र आत्म–सेन्सरसिपको प्रवृत्ति बढ्दो छ। महासंघले प्रेस स्वतन्त्रताको हनन रोक्न सबै पक्षलाई गम्भीर जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेको छ।
यस दिनले प्रेस स्वतन्त्रता मात्र होइन, सत्य सूचना पाउने जनताको अधिकार र लोकतन्त्रको मजबूतीमा प्रेसको योगदानलाई पनि स्मरण गराउने गर्दछ।







