थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डिया विमानमा बमको आशंका, आकस्मिक अवतरण
३० जेठ २०८२, दार्चुला।
थाइल्याण्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्ली जाँदै गरेको एयर इन्डिया एयरलाइन्सको विमानले शुक्रबार आकस्मिक अवतरण गरेको छ। विमानमा बम भएको आशंकासँगै उक्त निर्णय लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
AI-379 नम्बरको उक्त उडान फुकेत विमानस्थलबाट उडेको केही समयपछि बमको सम्भावित खतराबारे जानकारी प्राप्त भएपछि पुनः फुकेत विमानस्थलमै आकस्मिक रूपमा अवतरण गरिएको हो। विमानमा १५६ जना यात्रु सवार रहेका थिए।
स्थानीय सुरक्षा निकायहरूका अनुसार, सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ र विमानलाई परीक्षण तथा खोजतलासका लागि आइसोलेसनमा राखिएको छ। यात्रु तथा चालकदलका सदस्यहरू कसैलाई पनि शारीरिक क्षति नभएको पुष्टि गरिएको छ।
यस घटनासँगै फुकेत विमानस्थलमा केही समयका लागि सुरक्षा सतर्कता उच्च बनाइएको थियो।
बमको सूचना वास्तविक हो वा अफवाह भन्ने विषयमा अनुसन्धान जारी रहेको एयर इन्डियाका एक प्रवक्ताले बताएका छन्। हालसम्म बम वा विस्फोटक पदार्थ भेटिएको छैन।
गौरतलब छ, भारतीय उड्डयन क्षेत्रमा पछिल्ला केही दिनमा श्रृंखलाबद्ध रूपमा संकट सिर्जना भएका छन्। यसअघि १२ जुनमा एयर इन्डियाको अर्को विमान अहमदाबादमा दुर्घटनाग्रस्त हुँदा ठूलो संख्यामा ज्यान गएको थियो। त्यसकै केही घण्टापछि यो आकस्मिक अवतरणको घटना भएको हो।
यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिइएको बताउँदै एयर इन्डियाले घटनाबारे विस्तृत अनुसन्धानपछि आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ।






