शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने : अध्यक्ष सुवेदी
१३ वैशाख २०८२, दार्चुला।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विद्यालय शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै महासंघको अडानमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
शनिबार बिहान(आज) आफ्नो सामाजिक सञ्जालमा अध्यक्ष सुवेदीले लेखेका छन्, “हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौं। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो र यसबाट नेपाल शिक्षक महासंघ टसमस नहुने जानकारी गराइयो।”
उनको भनाइ अनुसार, शिक्षा ऐनको ढिलाइले शिक्षकहरूको पेशागत सुरक्षामा असर पारिरहेको छ र यसले विद्यालय तहमा नीतिगत अन्योलता सिर्जना गरेको छ। सुवेदीले सरकारलाई ऐन जारीका लागि गम्भीर बन्न आग्रह गरेका छन्।
नेपाल शिक्षक महासंघ हाल विद्यालय शिक्षा ऐनको विषयमा निरन्तर संवाद, दबाब र आन्दोलनरत छ। महासंघले यसअघि पनि चरणबद्ध कार्यक्रम घोषणा गर्दै आएको छ।






