१६ मंसिर २०८१, दार्चुला।
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ भने ३७६ जना चुनावी मैदानमा हुनुहुन्छ।
उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन्।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
निर्वाचन आयोगका प्रवक्ता निता पोख्रेल अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
तीन पद भने निर्विरोध भइसकेको छ। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन्। त्यस्तै, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ।
आयोगले मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालना गर्न तथा मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ। मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग आयोगले सहयोगको अपेक्षा गरेको छ।
निर्धक्क संग मतदान गर्ने वातावरण मिलाएका छौं यसमा हामी संवेदनशील छौं। निर्वाचन आयोगका प्रवक्ताले बताए।






