YCL नेता विष्टको कडा टिप्पणी: “कालो सरकारबाट रातो किताबको अपेक्षा गर्नु मुर्खता हो”
३ असार २०८२, दार्चुला।
Young Communist League (YCL) नेपालका केन्द्रीय उपमहासचिव नरबहादुर विष्टले सुदूरपश्चिम प्रदेश सरकारमाथि कडा टिप्पणी गर्दै हालको सरकारलाई “कालो सरकार” को संज्ञा दिएका छन्। उनले यस्ता सरकारबाट आशालाग्दो बजेट र समावेशी नीति आउने अपेक्षा गर्नु नै “मुर्खता” हुने टिप्पणी गरे।
विष्टले सामाजिक सन्जालमा लेखेका छन्, “गोरुले बच्चा जन्माउने आशा गर्नु र सुदूरपश्चिम प्रदेश सरकारबाट जनपक्षीय, विकासमुखी र पारदर्शी नीति आउने अपेक्षा गर्नु उस्तै हो।”
उनले सुदूरपश्चिम प्रदेश सरकारको आलोचना गर्दै बजेट निर्माण प्रक्रिया र कार्यान्वयनमा पनि प्रश्न उठाए। विष्टको आरोप छ कि प्रदेश सरकार सधैं बजेट ‘बेच्ने’ प्रवृत्तिमा रमाएको छ, जसले गर्दा जनताको जीवनस्तरमा कुनै ठोस परिवर्तन आउन सकेको छैन।
उनले प्रदेश सरकारलाई “श्रमजीवी जनताको हितविपरीत निर्णय गर्ने, पार्टीगत भागबण्डामा बजेट बाँड्ने र विकास योजनामा ढिलाइ गर्ने संस्था” को रूपमा चित्रण गरे।
विष्टले प्रदेश सरकारको नेतृत्वमा रहेका दलहरूलाई लक्षित गर्दै भने, “यस्ता सरकारका कालाकार्यशैलीले सुदूरपश्चिमको सपना कहिल्यै पुरा हुदैन, अबको लडाइँ जनपक्षीय र बैकल्पिक शक्तिको निर्माणको हो।”






