कमलेश दानु हत्याकाण्डको विरोधमा धारचुला बजार र सीमा पुल बन्दको घोषणा
१ असार २०८२ दार्चुला ।
पिथौरागढको धारचुलामा भएको कमलेश दानु हत्या घटनाको विरोधमा भोलि (असार २ गते) धारचुला बजार पूर्णरूपमा बन्द गरिने भएको छ। साथै भारत–नेपाल जोड्ने अन्तर्राष्ट्रिय सीमा पुलसमेत बन्द गरिने स्थानीयले घोषणा गरेका छन्।
शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह बिष्टको नेतृत्वमा विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाका प्रतिनिधिहरुले पिथौरागढका उपजिलाधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई कडा कारवाहीको मागसहित धारचुला बन्दको घोषणा गरेका हुन्।
ज्ञापनपत्र बुझाउनेमा उत्तराखण्ड राज्य सरकारका राज्यमन्त्री अशोक नवियाल, राजेन्द्र नेगी, नवीन तलाल, नन्द विष्ट, जीवन बिष्ट, गुमान बिष्ट, रुकुम विष्ट, राजेश दानु, मनोज नागयाल, गोवर्धन दानु, देवेन्द्र सिंहलगायत सहभागी थिए।
गत जुन ७ तारिख धारचुला बजार क्षेत्रमा कमलेश दानुलाई चक्कु प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न रहेका तीन जनाविरुद्ध पीडित पक्षले मुद्दा दर्ता गरिसकेको छ। तर, हत्यामा संलग्न व्यक्तिहरू अझै फरार रहेको भन्दै आक्रोश चुलिएको छ। उनीहरू नेपालतर्फ भागेको आशंका गरिएको छ भने भारतीय प्रशासनले हत्याराहरूको खोजी भइरहेको जनाएको छ।
पीडित पक्ष तथा स्थानीयको माग छ — घटनामा संलग्न अपराधीहरूलाई शीघ्र पक्राउ गरी कडा कानुनी कारवाही गरियोस्, अन्यथा थप संघर्षका कार्यक्रम अघि सारिनेछ।






