Comments Add Comment

देउवाको नाममा भ्रामक समाचारप्रति नेपाली कांग्रेसको आपत्ति


देउवाको नाममा भ्रामक समाचारप्रति नेपाली कांग्रेसको आपत्ति

८ जेठ २०८२, दार्चुला – शारदा पन्त।
नेपाली कांग्रेसले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नाम जोडेर राजसंस्थासम्बन्धी भनाइ सार्वजनिक गरिएको भनी केही सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा देउवाले राजसंस्था विषयमा कहीँ कतै कुनै टिप्पणी नगरेको र सञ्चारमाध्यममा आएको समाचार पूर्णतः भ्रामक, कपोलकल्पित र अनैतिक भएको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “कसैले क्षणिक स्वार्थ पूर्तिका लागि राजसंस्थाबारे देउवाको भनाइ भनेर गलत सूचना फैलाउनु अत्यन्त आपत्तिजनक कार्य हो। उहाँले नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले सार्वजनिक गर्नु पत्रकारिताको मर्म र भावना विपरीत हो।”

कांग्रेसले हालैका वर्षहरूमा प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण र सम्वर्द्धनमा देउवाको नेतृत्व सदैव अग्रपंक्तिमा रहेको दाबी गर्दै सबै नागरिकलाई यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न आग्रह गरेको छ।

साथै, पार्टीले सम्पूर्ण सञ्चारकर्मीहरूलाई पुष्टि नभएका, अव्यक्त र निराधार कुरालाई समाचारका रूपमा प्रस्तुत नगर्न आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment