अपिहिमालमा नेपाली कांग्रेसको १०० दिने अभियान प्रारम्भ
१ पुस २०८१ दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिका मा नेपाली कांग्रेस को १०० दिने अभियान प्रारम्भ गरिएको छ।
कांग्रेस पार्टी भित्रको तिक्तता, मनमुटावलाई अन्त्य गरी आपसी सदभाव, एकता र मेलमिलाप कायम गर्ने उद्देश्य सहित गाउँगाउँमा काङ्ग्रेसको संगठन बलियो बनाई २०८४ मा एक्लै चुनाव लड्ने गरी पूर्व तयारीका रुपमा १०० दिने विशेष अभियानलाई लिन सकिने जिल्ला सभापति ललित सिंह बोहराले बताएका छन्।
साथै १०० दिने विशेष अभियान कार्यक्रममा अपिहिमाल गाउँपालिकामा रहेका अग्रज नेताहरुलाई काङ्ग्रेसको संगठन विस्तार तथा नेपाली कांग्रेस पार्टीमा रहेर समाज परिवर्तन, विकास निर्माणमा योगदान पुर्याउनु हुने ११ जनालाई प्रमाणपत्र खदाद्वारा सम्मान गरिएको छ ।
सम्मानित हुनेमा नरसिंह धामी, लक्ष्मण सिंह धामी, धर्म सिंह बोहरा, धनलाल ठेकरे, परमानन्द बोहरा, जया ठेकरे, लाल सिंह ठेकरे, देवुवा कामी, धनसिंह धामी, नरेन्द्र सिंह ठेकरे, रुकुम ठगुन्ना, जीवन सिंह ठेकरे रहेका छन् ।
नेपाली काङ्ग्रेस अपि हिमाल गाउँपालिका सभापति शोभन सिंह लोथ्यालको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति सदस्य करवीर सिंह कार्की र जिल्ला उपसभापति मानसिंह बुढाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो भनी दिपक खातिले जानकारी दिएका छन्।






