कलाकार थानेश्वर गौतममाथि भइरहेको ट्रोलिङप्रति दिल निशानी मगरको आक्रोश, सामाजिक सञ्जालमा फैलिएको दुर्व्यवहारको गरे आलोचना
काठमाडौं । कलाकार थानेश्वर गौतममाथि सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङ तथा साइबर दुर्व्यवहारप्रति सामाजिक अभियन्ता दिल निशानी मगरले कडा आपत्ति जनाएका छन्। उनले कलाकार गौतमको समर्थन गर्दै व्यक्तिगत चरित्रमाथि आक्षेप लगाउने र अपमानजनक टिप्पणी गर्ने प्रवृत्तिको आलोचना गरेका हुन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बर्खास्तीसँग सम्बन्धित विषय र त्यसै सन्दर्भमा थानेश्वर गौतमले स्वर दिएको गीतलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका बेला निशानी मगरले यस्तो अभिव्यक्ति दिएका हुन्।निशानी मगरका अनुसार थानेश्वर गौतमले आफ्नो सिर्जनामार्फत सत्य घटनालाई मौलिक स्वर दिएका हुन्। उनले गौतमले कसैको शारीरिक बनावटमाथि अश्लील टिप्पणी नगरेको, कसैको शरीरलाई लिएर अभद्र अभिव्यक्ति नदिएको र र्याप शैलीमा अपमानजनक शब्द प्रयोग नगरेको उल्लेख गरेका छन्।
उनले गीत र सिर्जनालाई लिएर असहमति राख्न पाइने भए पनि कलाकारको व्यक्तिगत प्रतिष्ठामाथि प्रहार गर्ने, फेक आईडी प्रयोग गरेर चरित्र हत्या गर्ने तथा अश्लील टिप्पणी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै निशानी मगरले नेपाली समाजमा बढ्दै गएको अनुशासनहीनता र सामाजिक सञ्जालको दुरुपयोगप्रति समेत कटाक्ष गरेका छन्।उनले कुनै पनि देश राजनीतिक व्यवस्थाले मात्र नभई सांस्कृतिक पहिचान र नागरिकको अनुशासनले चिनिने उल्लेख गर्दै जापानको उदाहरण दिएका छन्।
जापानी प्रधानमन्त्रीको नाम धेरैलाई थाहा नभए पनि त्यहाँका नागरिकको अनुशासन विश्वभर परिचित रहेको उनको भनाइ छ।त्यस्तै, विदेशमा सामान्य श्रम गर्ने नेपालीहरूले सामाजिक सञ्जाललाई समेत असभ्य र अश्लील बनाइरहेको टिप्पणी गर्दै उनले भ्युज र लोकप्रियताका लागि अरूको मानमर्दन गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। दिनभरि शारीरिक श्रम गर्ने हातहरूले रातभरि टिकटकमार्फत सामाजिक सञ्जाल फोहोर बनाइरहेको उनको व्यङ्ग्यात्मक टिप्पणी छ।निशानी मगरले पाकिस्तानसँग तुलना गर्दै नेपालीहरूले फेक आईडी प्रयोग गरेर आफ्नै दाजुभाइ तथा दिदीबहिनीको चरित्र हत्या गर्ने गरेको आरोपसमेत लगाएका छन्।
उनले राजनीति, आग्रह र पूर्वाग्रहभन्दा टाढा रहेका थानेश्वर गौतमजस्ता प्रतिष्ठित सर्जकको सार्वजनिक रूपमा अपमान गर्नु गलत भएको बताउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूप्रति निकै कठोर शब्द प्रयोग गरेका छन्।उनको अभिव्यक्तिमा सामाजिक सञ्जालमा कलाकारमाथि भइरहेको व्यक्तिगत आक्रमण, अश्लील टिप्पणी र साइबर दुर्व्यवहारप्रति तीव्र असन्तुष्टि झल्किन्छ।कलाकारको सिर्जनामाथि आलोचना र बहस गर्न सकिने भए पनि व्यक्तिगत प्रतिष्ठा, मर्यादा र चरित्रमाथि आक्रमण गर्न नहुने विषयलाई निशानी मगरको प्रतिक्रियाले पुनः चर्चामा ल्याएको छ।


