Comments Add Comment

अपिहिमालमा रक क्लाइम्बिङ तथा रेस्क्यु तालिम सुरु: जारकोट बन्यो व्यावसायिक ‘रक क्लाइम्बिङ स्पट’




दार्चुला – सुदूरपश्चिमको पर्यटकीय सम्भावना बोकेको अपिहिमाल गाउँपालिकामा पर्यटन पूर्वाधार र सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले ‘फन्डामेन्टल रोप एन्ड रेस्क्यु’ (Fundamental Rope and Rescue) तालिम सञ्चालन गरिएको छ।
नेपाल पर्यटन बोर्ड (NTB), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को ‘दिगो पर्यटन परियोजना’ (STP) र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजनामा यो तालिम सुरु भएको हो। तालिममा ‘नेपाल नेस्नल माउन्टेन गाइड एसोसिएसन’ (NNMGA) ले प्राविधिक तथा प्रशिक्षक सहयोग उपलब्ध गराइरहेको छ।

आज एक विशेष कार्यक्रमका बीच रक क्लाइम्बिङ र रेस्क्यु तालिमको औपचारिक उद्घाटन गरियो। उद्घाटन समारोहमा प्रशिक्षकहरूले प्रत्यक्ष रूपमा चट्टान (रक) चढेर तालिमको शुभारम्भ गरेका थिए। अपिहिमाल गाउँपालिकाको कार्यालय नजिकै रहेको ‘जारकोट’ भन्ने स्थानमा व्यावसायिक ‘रक क्लाइम्बिङ स्पट’ तयार गरिएको छ।

अबदेखि यस क्षेत्रमा आउने पर्यटकहरूलाई जारकोटमै व्यावसायिक रक क्लाइम्बिङको अनुभव र तालिम प्रदान गरिनेछ।

यो कार्यक्रम नेपाल सरकारको १६औं आवधिक योजना र ‘नेपाल पर्यटन दशक (२०२३-२०३२)’ को लक्ष्यसँग प्रत्यक्ष जोडिएको छ, जसले पर्यटकको सुरक्षा सुनिश्चित गर्दै स्थानीयस्तरमा दिगो रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । दिगो पर्यटन परियोजना (STP) ले विशेष गरी कोभिड-१९ पछि पर्यटन क्षेत्रको पुनरुत्थान गर्न, पूर्वाधार निर्माण गर्न र पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धि गर्न जोड दिँदै आएको छ ।

यस तालिमले अपिहिमाल क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा स्तरलाई माथि उठाउनुका साथै स्थानीय युवाहरूलाई आरोहण र उद्धारका आधारभूत सीपहरू प्रदान गरी दक्ष जनशक्ति तयार गर्ने अपेक्षा गरिएको छ । जारकोटमा विकास गरिएको यो नयाँ पर्यटकीय क्षेत्रले सुदूरपश्चिमको पहाडी जिल्लामा साहसिक पर्यटनको नयाँ गन्तव्य थपेको छ, जसले यस क्षेत्रको आर्थिक समृद्धि र पूर्वाधार विकासमा दीर्घकालीन टेवा पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment