महेश धामीको नेतृत्वमा लोकतान्त्रिक निर्माण व्यवसायी संघ दार्चुला गठन
दार्चुला, वैशाख १४ – शारदा पन्त।
दार्चुलामा लोकतान्त्रिक निर्माण व्यवसायी संघको प्रथम जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था स्वरूप रहेको यस संघको अध्यक्षमा महेश सिंह धामी सर्वसम्मत रूपमा चयन भएका छन्।
दार्चुला कांग्रेसको जिल्ला पार्टी कार्यालयमा सम्पन्न भेलाको अध्यक्षता तदर्थ समिति संयोजक महेश सिंह धामीले गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख तथा कांग्रेस दार्चुलाका कार्यवाहक सभापति महादेव बडु प्रमुख अतिथि र लोकतान्त्रिक निर्माण व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका संयोजक मदन बहादुर कुवर विशिष्ट अतिथि रहेका थिए।
भेलामा नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्की, महासमिति सदस्य हरक सिंह बिष्ट, तथा कांग्रेस निकट निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडुले प्रदेश संयोजक मदन बहादुर कुवर र प्रमुख अतिथि महादेव बडुलाई अल्लोको कोट र देशकै ऐतिहासिक स्थल मालिकार्जुन मन्दिरको तस्बिर मायाको चिनोस्वरूप उपहार प्रदान गरे।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि महादेव बडुले नेपालको समग्र विकासमा निर्माण व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाको मर्मअनुसार निर्माण व्यवसायीहरुलाई संगठित गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने योग्य बनाउने उद्देश्यले संघ गठन गरिएको जानकारी दिए।
उहाँले संघीय, प्रादेशिक र स्थानीय तीनवटै तहमा लोकतान्त्रिक मूल्य–मान्यता अनुसार व्यवसायीक हक–हितको संरक्षण र प्रवर्द्धनमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।






