दार्चुलामा भारतको तटबन्ध निर्माण रोक्न एमालेको माग, परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाइयो
दार्चुला, वैशाख २१ — छिमेकी भारतले दार्चुला जिल्लाको महाकाली नदी किनारमा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको भन्दै नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले कडा आपत्ति जनाउँदै सो कार्य तत्काल रोक्न माग गरेको छ। यस विषयमा नेपाली सरकारको ध्यानाकर्षण गराउँदै एमालेले परराष्ट्र मन्त्रालयमार्फत ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा महाकाली नगरपालिका–४ र ५ अन्तर्गत भारतीय पक्षले बलमिच्याई पूर्वक तटबन्ध निर्माण गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले यसबारे चुप्पी साधेकोप्रति गम्भीर आपत्ति जनाइएको छ। पार्टीले विगतदेखि नै जनस्तरबाट दबाब दिने प्रयास भएको तर सरकार मौन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।
“यो अवस्था दुःखद, लज्जास्पद र विडम्बनापूर्ण छ,” एमाले जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “सीमारेखामै तटबन्ध बनाइनु र सरकारको मौनता दार्चुलावासीका लागि अन्याय हो।”
ज्ञापनपत्रमा महाकाली नदी नियन्त्रण आयोजनाको खारेजीले समस्या झन् जटिल भएको उल्लेख छ। आयोजनाको कार्यालय दार्चुलाबाट हटाएर बैतडीको पाटनमा राखिएको भएपनि सो कार्यालयले महाकाली नदीको अवस्था र आवश्यकतामा चासो नदेखाएको जनाइएको छ।
एमालेले निर्माण भइरहेका क्षेत्रहरुमा निजी लालपुर्जा भएका जग्गा र सरकारी सम्पत्ति समेत रहेको भन्दै तत्काल निर्माण कार्य रोक्न परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग समन्वय गर्न आग्रह गरेको छ। दुबै देशका संयुक्त नापी तथा प्राविधिक टोली परिचालन गरी समस्या समाधान गर्नुपर्ने एमालेको माग छ।
“यदि तुरुन्त कदम चालिएन भने थप आन्दोलनका कार्यक्रम अघि बढाइनेछ,” ज्ञापनपत्रमा चेतावनी स्वरूप उल्लेख गरिएको छ।








