विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रचण्डको शुभकामना: प्रेस स्वतन्त्रताको संरक्षणमा निरन्तर लाग्न आग्रह
दार्चुला, वैशाख २० — विश्व प्रेस स्वतन्त्रता दिवस–२०८२ का अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारितामा प्रेस क्षेत्र लागिरहने विश्वास व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका क्रममा सञ्चार क्षेत्रको योगदानलाई उच्च मूल्याङ्कन गरेका छन्। “संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ,” उनको सन्देशमा उल्लेख गरिएको छ।
प्रेस स्वतन्त्रता दिवसले पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा दिने उल्लेख गर्दै अध्यक्ष दाहालले संवैधानिक र कानुनी प्रावधानहरूको व्यावहारिक कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए।
उनले प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न सबै सञ्चारकर्मी, संस्था र माध्यमहरूलाई निरन्तर योगदान दिन शुभकामना दिएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस प्रत्येक वर्ष मे ३ (वैशाख २०/२१) मा मनाइन्छ, जसले प्रेस स्वतन्त्रताको मूल्य, पत्रकारहरूको सुरक्षा र सूचनामा सर्वसाधारणको पहुँचको विषयलाई स्मरण गराउँछ।






