दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–४ पातीस्थित मालिकार्जुन मन्दिरमा हरेक वर्षझैँ यस वर्ष पनि अश्विन शुक्ल चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने भएको छ। मन्दिर परिसरमा जात्रा मनाउन आवश्यक तयारी पूरा भइसकेको स्थानीय पारस धामीले जानकारी दिएका छन्।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो जात्रा हरेक वर्ष ठूलो उत्साहका साथ मनाइन्छ। स्थानीयवासीहरूसँगै आसपासका गाउँबाट पनि भक्तजनहरूको ठूलो सहभागिता हुने गर्दछ। रातभरि पूजाआजासँगै देउडा, झ्याउरे, धमरी र अन्य लोकनृत्य प्रस्तुत गरिँदै जात्रा मनाइने परम्परा रहिआएको छ।
पारस धामीका अनुसार यस वर्ष पनि मन्दिर सजावट, दीप प्रज्वलन र देवीपूजाको सम्पूर्ण तयारी पूरा भएको छ। उनका अनुसार भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि स्थानीय युवा समूह र मन्दिर व्यवस्थापन समितिले समन्वयमा काम गरिरहेका छन्।
मालिकार्जुन मन्दिर स्थानीय समुदायका लागि धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ। जात्राको अवसरमा मन्दिर क्षेत्र अत्यन्त आकर्षक दृश्यमा रुपान्तरण हुने गर्दछ।









