Comments Add Comment

दार्चुलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को विस्तारित बैठक सम्पन्न, राष्ट्रिय सम्मेलनको तयारीमा जोड



दार्चुला, २०८२ भदौ ४ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला कार्यसमितिको आयोजनामा दार्चुलामा भेला तथा विस्तारित बैठक सम्पन्न भएको छ। माओवादी पार्टी कार्यालय खलंगामा आयोजित कार्यक्रममा संगठन सुदृढीकरण, महिला नेतृत्वको भूमिका र आगामी राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता संघकी जिल्ला अध्यक्ष गायत्री रावलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रदेश सभा सदस्य लक्ष्मी विक रहनुभएको थियो। विशिष्ट अतिथिमा पार्टीका जिल्ला संयोजक पदम पन्त, प्रेम लगायत प्रदेश कमिटी सदस्यहरू तथा जिल्लाका विभिन्न पालिकाबाट संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैगरी, वाईसीएल नेपाल दार्चुलाका संयोजक राजेन्द्र सिंह बोहरा, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य शारदा पन्त लगायतका अतिथिहरू पनि सहभागी हुनुहुन्थ्यो।

बैठकले आगामी भदौ १८ गते हुने राष्ट्रिय सम्मेलनलाई सफल पार्न आवश्यक तयारी गर्ने निर्णय गरेको छ। प्रत्येक पालिकाबाट १ जना र जिल्लाबाट २ जना प्रतिनिधि पठाउने निर्णयका साथै संगठनका गतिविधि र समसामयिक विषयमा छलफल गरिएको थियो। कार्यक्रममा राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई सम्मान गरिएको थियो। प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य शारदा पन्त, डीएमसी स्ववियुकी उपाध्यक्ष पशुपति ठगुन्ना, सदस्य सरोजनी ठगुन्ना लगायतलाई प्रमुख अतिथि लक्ष्मी विकले खादा ओढाएर सम्मान गर्नुभएको थियो। साथै, महिला स्ववियु पदाधिकारी, मुक्त हलियाका केन्द्रीय सदस्यहरूको पनि सम्मान गरिएको थियो।

अध्यक्ष गायत्री रावलले कार्यक्रमपछि भन्नुभयो, “यो बैठक संगठन सुदृढीकरण र महिला नेतृत्वको भूमिकाबारे छलफल गर्नुका साथै राष्ट्रिय सम्मेलनको तयारीका लागि आयोजना गरिएको हो। हामीले तीज गौरापर्वको शुभकामना आदानप्रदान पनि गरेका छौं।”

कार्यक्रममा सहभागीहरूले महिला सशक्तीकरण र राजनीतिक सहभागितालाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यस बैठकले दार्चुला जिल्लामा संगठनको क्रियाशीलतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment