Comments Add Comment

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा पुनः सक्रिय



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा पुनः सक्रिय

१४ असार २०८२, दार्चुला ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी छिन्। शनिबार काठमाडौँमा आयोजित स्वर्गीय मदन भण्डारीको ७४ औं जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमाले राजनीतिमा पुनः सक्रिय रूपमा जोडिएको औपचारिक घोषणा गरिन्।

“म फेरि एमाले परिवारमा जोडिएकी छु,” पूर्वराष्ट्रपतिले भनिन्, “यो कुनै आकस्मिक निर्णय होइन। जनताको भावना, देशको अवस्था र स्व. मदन भण्डारीको विचारले मलाई यो बाटो रोज्न उत्प्रेरित गर्‍यो।”

भण्डारीले आफ्ना पछिल्ला वर्षहरू राष्ट्रपतिको हैसियतले बिताएको स्मरण गर्दै भनिन्, “राष्ट्रपतिको रूपमा मैले राजनीति नगरे पनि, राजनीतिक मूल्य–मान्यताबाट टाढा कहिल्यै भइनँ। आज फेरि एमालेको सदस्यका रूपमा आफ्नो योगदान दिन पाउँदा गर्व लागेको छ।”

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले भण्डारीको निर्णयले पार्टीलाई नयाँ ऊर्जा र भरोसा थप्ने विश्वास व्यक्त गरेका थिए।

एमालेभित्र भण्डारीको सक्रियता फेरि देखिनु केही समयदेखि चर्चामा रहे पनि औपचारिक घोषणा शनिबार मात्र भएको हो। उनले पार्टी सदस्यता पनि नवीकरण गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्व उपाध्यक्ष समेत हुन्। उनका पति स्व. मदन भण्डारी पार्टीका लोकप्रिय विचारक तथा नेताका रूपमा चिनिन्छन्।

यस घोषणासँगै एमालेभित्र आगामी नेतृत्वको बहस थप चर्किने अनुमान गरिएको छ। यद्यपि भण्डारीले आफूसँग कुनै ‘राजनीतिक महत्वाकांक्षा’ नरहेको र देश, जनता र पार्टीको सेवामा योगदान दिन चाहेको स्पष्ट पारेकी छिन्।

कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारीको योगदानको स्मरण गर्दै उनको विचार र मार्गदर्शन अझ सजीव बनाउने सन्देश पनि दिइएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment