नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारित
नौगाड, असार ४ गते — दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाबीच आज अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। नौगाड गाउँपालिका अध्यक्ष श्री दलजीत सिंह धामीको अध्यक्षता र मार्मा गाउँपालिका अध्यक्ष श्री जमन सिंह धामीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले दुई पालिकाको साझा हितमा रहेका ६ महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
पारित निर्णयहरू यसप्रकार छन्:
1. सडक आयोजनाको एकीकरण — तपोवन–मुरै–निम्ठा–सिप्टी हुँदै होपरीगाड र नौगाड–होपरीगाड–विनायक सडकलाई एउटै आयोजनाको रुपमा प्रदेश गौरवको आयोजना कायम गर्न सिफारिस गर्ने।
2. सडक पुल निर्माण — नौगाड खोलामा वडा नं ३ र ५ जोड्ने सडक पुल तत्काल निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने।
3. विनायक सुङरखाली बहुउद्देश्यीय पार्क — सिमानामा रहेको रमणीय स्थलमा लागत साझेदारीमा बहुउद्देश्यीय पार्क निर्माणको सम्भाव्यता अध्ययन गर्ने।
4. खानेपानी तथा सिँचाइ आयोजना — सिप्टी, पत्थरकाडा, निम्ठा क्षेत्रका समस्या समाधान गर्न विस्तृत अध्ययनसहित संयुक्त बहुपयोगी खानेपानी आयोजना सञ्चालन गर्ने।
5. कृषि ज्ञान आदान–प्रदान — सफल कृषि अभ्यासहरू तालिम तथा भ्रमणमार्फत कृषकहरूमाझ साझा गर्ने र संस्था साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने।
6. विपद् प्रतिकार्य योजना — दुवै पालिका उच्च जोखिममा रहेकाले समन्वयमा विपद् न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयन गर्ने।
बैठकमा दुवै पालिकाका जनप्रतिनिधि, प्राविधिक र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समन्वय र साझेदारीमा आधारित यस किसिमको प्रयासले स्थानीय विकासलाई थप प्रभावकारी बनाउने अपेक्षा लिइएको छ।






