अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षगाँठ, प्रधानमन्त्री ओलीद्वारा शुभकामना सन्देश
२० जेठ २०८२, दार्चुला ।
सगरमाथा भन्दा पहिला नै मानव पाइला टेकेको पहिलो आठहजार मिटरको शिखर — अन्नपूर्ण हिमालको सफल आरोहण भएको आज ७५ वर्ष पूरा भएको छ। यस अवसरमा देश-विदेशका पर्वतारोहीहरू, पर्यटन व्यवसायी, स्थानीयवासी र अधिकारीहरू अन्नपूर्ण बेसक्याम्पमा भेला भएका छन्।
सन् १९५० मे ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लाचेनालको नेतृत्वमा अन्नपूर्ण शिखर पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको थियो। यही ऐतिहासिक दिनको सम्झनामा आज विशेष कार्यक्रमहरू आयोजना गरिँदै छन्।
यस ऐतिहासिक दिनको सन्दर्भमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत “अन्नपूर्ण बेसक्याम्पबाट नमस्कार ! अन्नपूर्ण हिमाल आरोहणको आज ७५ औं वर्ष पूरा भएको छ। सबैलाई शुभकामना।” भन्दै सन्देश दिएका छन्।
प्रधानमन्त्री ओलीका अनुसार अन्नपूर्णको सफल आरोहण नेपाली पर्वत पर्यटनको जग नै हो। “हाम्रा हिमालहरूले नेपालको पहिचान संसारभर फैलाएका छन्। पर्वतारोहण, प्रकृति, संस्कृति र सहासको यो संगमले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याएको छ,” उनले भनेका छन्।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूका अनुसार यस्तो अवसरले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने मात्र होइन, हिमाली क्षेत्रको विकास र संरक्षणमा पनि योगदान पुर्याउँछ।
यता गण्डकी प्रदेश सरकारले पनि ७५ औं वर्षगाँठलाई विशेष रूपमा मनाउने तयारी गरेको छ। कार्यक्रममा हिमाल आरोहणमा योगदान पुर्याउने अग्रज पर्वतारोहीहरूलाई सम्मान, वृत्तचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम र वातावरणीय सचेतनामूलक कार्यक्रमहरू समावेश गरिएका छन्।
नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ, स्थानीय तह तथा अन्य सरोकारवालाहरूको समन्वयमा अन्नपूर्ण क्षेत्रको दीगो विकास र सुरक्षित पर्वतारोहणका लागि पनि विभिन्न योजनाहरू सार्वजनिक गरिएको छ।







