भेटौलाको सम्झनामा प्रदेशी
११ चैत २०८१, दार्चुला।
चैत महिना सुरू भएसँगै दार्चुला सहित सुदूरपश्चिम भरी भेटौला पर्व शुरु हुने गर्दछ। भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भेटौला खास गरेर दार्चुला, बैतडी, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय कुमाउ उत्तराखण्ड गाउघरतिर विवाह भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलन प्रचलित रुपमा रहेको छ ।
चैत १ गतेदेखि छोरीबहिनीलाई भेट्ने कार्यको थालनी हुन्छ भने यो चलन चैत महिना चलिरहन्छ। यो महिनामा भण्डारण गरी राखिएको खाद्यान्न सकिएर जाने भएकाले छोरिबहिनीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ।
अहिले भिटौला पर्वको महत्त्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता पाइरहेको पनि छ । होली पर्वको महत्त्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको हो ।अरू संस्कृति बरू छोड्दै गएको पाइन्छ, तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस हुने गर्दछ। परम्परागत कथाअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ। भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा लिएर जाने चलन छ, यसो सम्झिदै भारतको जम्मुबाट लेकम-५ का वासुदेव जोशीले भेटौला पर्वलाई सम्झिएका छन्।
माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन पनि यहि भेटौला संग जोडिन्छ जम्मु मै कार्यरत लेकम – २ बस्ने भुपाल दत्त भट्टले सम्झिएका छन्। भने
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो विसञ्चो समेत थाहा पाउन कठिन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीबहिबीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन शुरु भएको स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन रहेको हुन सक्ने लेकम-४ का परमानन्द जोशीले सम्झिदै बताएका छन्।
पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने रहि आएको जोशीले बताए।
चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने विश्वास पनि रहिआएको छ। चैत्र महिनाभरी एकरात दिदीबहिनीको घरमा बास बस्ने एवम् दाजुभाइ र दिदीबहिनीले प्रेम सद्भाव साटासाट गर्ने महिनाका रुपमा पनि चैत्र महिनालाई लिन सकिन्छ।








